धादिङ ।
जिल्लामा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमहरूको प्रभाव, उपलब्धि र आगामी योजनाबारे समीक्षा गर्दै जनस्वास्थ्य कार्यालय धादिङले स्वास्थ्य सेवा सुधारका लागि सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको औंल्याएको छ।
जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी दिने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा स्वास्थ्य क्षेत्रका तथ्यांक र अनुभवलाई आधार बनाएर जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समीक्षा प्रस्तुत गरिएको थियो।
जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा विभिन्न शाखाका स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुतिका क्रममा जिल्लामा सञ्चालित खोप कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, पोषण सुधार अभियान, परिवार नियोजन, सुरक्षित मातृत्व कार्यक्रम, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा समुदायस्तरमा सञ्चालन गरिएका स्वास्थ्य सचेतनामूलक कार्यक्रमबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा कार्यालय प्रमुख पौडेलले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा समुदायमा आधारित स्वास्थ्य सेवाका क्षेत्रमा जिल्लाले सकारात्मक उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप कार्यक्रमको पहुँच विस्तार तथा जनस्वास्थ्य सेवामा भएका सुधारका पक्षबारे जानकारी दिँदै अझै पनि भौगोलिक कठिनाइ, सेवा पहुँच र जनचेतनाका क्षेत्रमा चुनौती रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, कार्यक्रमका सहजीकर्ता तथा जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले कार्यालयले आर्थिक वर्षभर सञ्चालन गरेका कार्यक्रमहरूको तथ्यांकसहित समीक्षा प्रस्तुत गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतनामूलक अभियान विस्तार तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा सुझाव राख्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक प्रयासहरूको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका पक्षहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्यसम्बन्धी सूचना र जनचेतनामूलक सामग्रीलाई समुदायसम्म प्रभावकारी ढंगले पुर्याउन सञ्चार क्षेत्र र जनस्वास्थ्य कार्यालयबीच सहकार्य अझ बलियो हुनुपर्ने धारणा राख्नुभयो।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउन, समुदायस्तरमा जनस्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्न तथा स्वास्थ्य सूचना समयमै नागरिकसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रमले स्वास्थ्य क्षेत्रका उपलब्धि मात्र होइन, आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्दै सेवा गुणस्तर अभिवृद्धिको साझा प्रतिबद्धता समेत व्यक्त गरेको सहभागीहरूले बताएका छन्।