✍️ सीताराम अधिकारी/धाादिङ (गल्छी)
कहिले पानी पर्ला भनेर आकाश हेरेर बस्नु पर्ने अवस्था थियाे । पानी राम्राेसंग नपरेकाे समयमा खेतिपाती तथा तरकारी फलाउन कठिन थियाे । केही खेतवालालेमात्र त्रिशूली नदीकाे पानी तानेर सिंचाइ सुविधा पुर्याएका थिए ।
दक्षिणी धादिङको गल्छी गाउँपालिका-०१, मसटारका कृषकहरूको दैनिकी निकै कष्टकर थियो। खेतीयोग्य जमिन भए पनि भरपर्दो सिँचाइ प्रणाली नहुँदा कृषकहरू मौसमी पानीकै भर पर्नुपर्ने बाध्यता थियो। हिउँदमा सुख्खा खडेरी र बर्खामा कुलो भत्किने समस्याले गर्दा बाली विविधीकरण गर्ने अवसर नै सीमित थियो।
यसले गर्दा कृषि उत्पादन र उत्पादकत्व निकै कमजोर थियो। पानीको अभावले सबैभन्दा ठूलो मार महिला कृषकहरूलाई पारेको थियो, किनभने स्थानीय कृषि श्रमशक्तिको प्रमुख हिस्सा महिलाहरू नै हुन्। मसटारका महिलाहरुले खेती प्रणाली धानेकाे र कठिन अवस्था भाेग्नु परेकाे स्थानीय कृषक मैयाँ हमालले बताउनुभयाे ।
खेतीपातीका अधिकांश काममा धेरै समय र शारीरिक श्रम खर्चिनुपर्दा उनीहरूको जीवन कष्टकर बनेको थियो। जलवायु परिवर्तनको जोखिम र खाद्य असुरक्षाले यहाँका बासिन्दालाई सधैं सताइरहन्थ्यो।
समुदायको यो विकराल समस्या समाधान गर्नका लागि स्थानीय कृषकहरू एकजुट भए र समुदायकै सक्रिय सहभागितामा आधारित सिँचाइ पूर्वाधार विकास कार्यक्रम अघि बढाइयो। यसै क्रममा २ वर्षअघि महिलाहरुले अगुवाई गरेर कालीदेवी कृषक समूह र महेशटार कृषक समूह गरे ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप), आयोजना क्लस्टर एकाइ गोरखाद्वारा प्राविधिक तथा आर्थिक सहजीकरण गरि सहयाेग गर्यो। पुरक अनुदान मोडालिटी अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा पूरक अनुदान कार्यक्रममार्फत प्रत्येक समूहलाई रु. ६ लाख उपलब्ध गराइयो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा थप पूर्वाधार निर्माणका लागि साना सिँचाइ कार्यक्रम अन्तर्गत दुवै समूहलाई रु. १ लाख ५० हजार रकम प्रदान गरेपछि गाउँबासीमा खुसियाली छायाे ।
४४० मिटर कुलाे निर्माण भएपछि गाउमा सुन फल्न थाल्याे । वा गाउँ बासि सि०चाईपछि कुलाेकाे कारण कमाउन थालेका छन् ।
यो व्यवस्थाले समुदायमा साझा लगानी, अपनत्व, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँदै योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीयको सक्रिय सहभागिता सुनिश्चित गर्यो।
मसटरका फाँटमा सिमि, बाेडी, आलु, भ्यान्टा लगायतका तरकारी फल्न थाल्याे । फाटबाट झाेलुंगेपुल तारेपछि बजार लान थालियाे र गाउँ बासीकाे आम्दानी बढेकाे समूहका अध्यक्ष चुनमायाँ ठकुरीले बताउनुभयाे ।
सिँचाइको कुलो मात्रै बनेन, किसानको क्षमता विकासलाई पनि उत्तिकै प्राथमिकता दिइयो। कालीदेवी कृषक समूहले १६ हप्ता लामो ‘आलु बाली कृषक पाठशाला’ सञ्चालन गर्यो ।
सिक्दै-गर्दै’ पद्धतिमा आधारित पाठशालाबाट कृषकहरूले ज्ञान र सीप हासिल गरे ।
उन्नत आलु खेती प्रविधि, प्रभावकारी सिँचाइ तथा पानी व्यवस्थापन, जलवायु-स्मार्ट कृषि प्रविधि र आधुनिक बाली व्यवस्थापन बारे जानकार भएपछि कृषकहरले थाेरै लगानीमा धेरै उत्पादन लिन सकिनेखेति सुरु गरेकाे ठकुरीको भनाइ छ ।
अहिले मसटारको तस्विर बदलिएको छ। कंक्रीट लाइनिङ गरिएको कुलोका कारण पानीको चुहावट रोकिएको छ। थप ५ हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा विस्तार भई कुल सिँचित क्षेत्रफल १० हेक्टर पुगेको छ।सिँचाइको उपलब्धतासँगै कृषकहरूले परम्परागत खेती छाडेर व्यावसायिक खेती सुरु गरेका छन्। अहिले यहाँका खेतबारीमा बन्दाकोपी, सिमी, आलु र काउली, गहुँ, मकै र तोरी फलेको छ ।
पहिलेको सीमित ‘धान-तरकारी-मकै’ बाली प्रणाली परिवर्तन भई अहिले ‘धान-गहुँ-तोरी-तरकारी-मकै’ को बहु-बाली प्रणालीमा रूपान्तरण भएको छ। यसले जमिनको उपयोग दक्षता बढाउनुका साथै कृषकहरूको आम्दानीमा व्यापक वृद्धि गरेको मैयाँ हमालकाे भनाइ छ ।
पानीको खोजी र कुलो मर्मतमा घण्टौँ बिताउनुपर्ने महिला कृषकहरूको शारीरिक श्रम र समयको बचत भएको छ। उत्पादित तरकारी सहजै बजारमा लगेर बिक्री गर्न पाउँदा र हातमा दाम आउन थालेपछि स्थानीय कृषकहरूमा खुसीयाली छाएको छ।

परियाेजना अनुगमनमा संचारकर्मी र विज्ञटाेली

समूहका ठकुरी अध्यक्ष भन्छन्, “अहिले गाउँमा धेरै सकारात्मक परिवर्तन भएको छ र किसानहरू आत्मनिर्भर बन्दै गएका छन्”।
दिगो विकास लक्ष्य र जलवायु उत्थानशील कृषिको यो एउटा उत्कृष्ट र अनुकरणीय नमुना बनेको छ, जसले मसटारको पोषण सुरक्षा र ग्रामीण जीविकोपार्जनमा दीर्घकालीन र सुनौलो प्रभाव पारेको देखिन्छ ।