शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोडदिँदै धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोडभन्दा बढीको बजेट पारित

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोडदिँदै धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोडभन्दा बढीको बजेट पारित

  • Kandara Samachar

  • बिहिबार, असार ११, २०८३

  • 45
    SHARES
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोडदिँदै धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोडभन्दा बढीको बजेट पारित

धादिङ .।

धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हो।

कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख २० हजार ८ सय रुपैयाँ अर्थात् ५०.९२ प्रतिशत र पुँजीगततर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ अर्थात् ४९.०८ प्रतिशत विनियोजन गरिएको छ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा बैंक मौज्दातलाई आयको प्रमुख स्रोतका रूपमा अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकास क्षेत्रमा ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ३२ करोड ८७ लाख ८ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ३० करोड ८८ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ ३४ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, बन्चरेडाँडा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रहरूको पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त ३ करोड रुपैयाँबाट सञ्चालन हुने योजनासमेत प्रस्ताव गरिएको छ।

नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रमसँगै विनियोजन विधेयक–२०८३ र आर्थिक विधेयक–२०८३ समेत नगरसभाबाट पारित गरिएको छ।

नगरपालिकाले आगामी वर्ष सेवा प्रवाह सुधार, सामाजिक क्षेत्रको विकास, पूर्वाधार विस्तार तथा स्थानीय स्तरमा आर्थिक गतिविधि प्रवर्द्धनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar