धादिङ ।
गल्छी गाउँपालिकाले महिलाहरूको आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको विभिन्न सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रमअन्तर्गत महिलाहरूलाई सीप प्रदान गर्नुका साथै आवश्यक सामग्री र मेसिनसमेत हस्तान्तरण गरिएको छ।
गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको ३० दिने मेसिन होजियारी सम्बन्धी सीपमूलक तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो। तालिममा थालचाैर उद्यामशील महिला समुहका १५ जना महिलाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडा नं. ५ का वडाध्यक्ष सरोज तामाङको उपस्थितिमा तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, होजियारी मेसिन लगायत आवश्यक सामग्री थालचौर उद्यमशील महिला समूहलाई हस्तान्तरण गरिएको थियो।
होजियारी तालिमका प्रशिक्षक मोहनबहादुर खत्री रहेका थिए। तालिममार्फत महिलाहरूले विभिन्न प्रकारका होजियारी सामग्री उत्पादन गर्ने व्यावहारिक ज्ञान र सीप हासिल गरेको जनाइएको छ।
त्यसैगरी, दुई दिने दुना–टपरी निर्माण तालिम बैरेनिकाे महेशदाेभानमा संचालन भईरहेकाे छ ।
तालिममा आत्मनिर्भर महिला समूहका २१ जना महिलाको सहभागिता रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत कर्मचारी सुजिना श्रेष्ठले महिलाहरूलाई सीप विकाससँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
“महिलाहरूलाई सीपमूलक तालिम दिएर उनीहरूको आयआर्जन क्षमता वृद्धि गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ,” श्रेष्ठले बताउनुभयो।
स्थानीय तहले महिलालाई केवल तालिममा सीमित नराखी सीपसँगै आवश्यक उपकरण हस्तान्तरण गर्ने अभ्यासले स्वरोजगार तथा साना उद्यम विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा गल्छी गाउँपालिकाले महिलाहरूलाई उत्पादन र उद्यमसँग जोड्ने कार्यक्रमहरूमा लगानी बढाउँदै आएको देखिन्छ, जसले महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भर समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।