“पहिला शिक्षा र रोजगारी” सन्देश सहित बालविवाह अन्त्यका लागि सचेतना र्याली

“पहिला शिक्षा र रोजगारी” सन्देश सहित बालविवाह अन्त्यका लागि सचेतना र्याली

  • Kandara Samachar

  • मङ्लबार, असार ९, २०८३

  • 63
    SHARES
“पहिला शिक्षा र रोजगारी” सन्देश सहित बालविवाह अन्त्यका लागि सचेतना र्याली

धादिङ

गल्छी गाउँपालिका–३ मा बाल विवाह अन्त्य गर्ने उद्देश्यसहित बाल विवाह विरुद्ध सचेतनामूलक र्‍याली सम्पन्न गरिएको छ।

मिलनसार वडा बाल समूह सञ्जालको आयोजनामा बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम अन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकास तथा बालमैत्री स्थानीय शासन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

“बीस वर्ष पारी बिहेबारी, त्योभन्दा अघि शिक्षा र रोजगारी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बालबालिका, बुद्धिजीवी, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको वडा बालमैत्री सहजकर्ता आरती पोखरेलले जानकारी दिनुभयो।

गल्छी गाउँपालिका–३ नम्बर वडा कार्यालय परिसरबाट सुरु भएको र्‍याली विभिन्न टोल तथा समुदायको परिक्रमा गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ। र्‍यालीमार्फत बाल विवाहका नकारात्मक असर, शिक्षा र बाल अधिकारका विषयमा समुदायस्तरमा सचेतना फैलाउने प्रयास गरिएको थियो।

मिलनसार वडा बाल समूह सञ्जालका अध्यक्ष समिर श्रेष्ठका अनुसार बाल विवाह अन्त्य गरी सुरक्षित, शिक्षित र उज्ज्वल भविष्य निर्माणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

नेपालको प्रचलित कानुनले बाल विवाहलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको छ। मुलुकी देवानी संहिता अनुसार विवाहका लागि महिला र पुरुष दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। २० वर्षभन्दा कम उमेरमा गरिने विवाह स्वतः गैरकानुनी मानिन्छ।

त्यस्तै मुलुकी अपराध संहिता ले बाल विवाह गराउने, सहजीकरण गर्ने वा त्यसमा संलग्न हुने व्यक्तिलाई कानुनी कारबाहीको व्यवस्था गरेको छ। कानुन अनुसार बाल विवाह गराउने वा त्यसमा सहयोग गर्ने व्यक्तिलाई कैद तथा जरिवानासमेत हुन सक्ने व्यवस्था छ।

यसैगरी बालबालिका सम्बन्धी ऐन ले बालबालिकाको अधिकार संरक्षण गर्दै बाल विवाहलाई बाल अधिकार हननको विषय मानेको छ। कानुनले बालबालिकालाई शिक्षा, स्वास्थ्य, संरक्षण र सुरक्षित भविष्यको अधिकार सुनिश्चित गरेको छ।

बाल अधिकारकर्मीहरूका अनुसार बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा दीर्घकालीन असर पार्ने भएकाले यसको अन्त्यका लागि समुदाय, परिवार र स्थानीय तहको संयुक्त प्रयास आवश्यक रहेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar