सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर गल्छीको ६७ करोडभन्दा बढी बजेट पारित

सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर गल्छीको ६७ करोडभन्दा बढी बजेट पारित

  • Kandara Samachar

  • मङ्लबार, असार ९, २०८३

  • 35
    SHARES
सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर  गल्छीको ६७ करोडभन्दा बढी बजेट पारित
oplus_2

– विषम श्रेष्ठ/धादिङ (गल्छी)

गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभाको अधिवेशनबाट नीति, कार्यक्रम तथा बजेट पारित गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय स्रोत परिचालन, पूर्वाधार विकास, वडास्तरीय योजना सञ्चालन तथा विगतका दायित्व व्यवस्थापनलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयाे ।

गाउँसभाले पारित गरेकाे बजेटमध्ये सामाजिक विकासतर्फ २६ कराेड ८७ लाख ७० हजार ९५१, आर्थिक विकास तर्फ १ कराेड ९८ लाख ४ हजार १७८, पुर्वाधार विकास तर्फ २२ कराेड ३० लाख, बन वातावरण तथा विपद व्यवस्थापन तर्फ ६१ लाख र संस्थागत क्षमता तथा शुसासन तर्फ १३ कराेड १५ लाख ८ हजार बिनियाेजन गरिएकाे छ ।

बजेट विवरणअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट १६ करोड ५८ लाख ९१ हजार ८ सय २४ रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यसमध्ये स्थानीय राजस्व बाँडफाँड, दहत्तर–बहत्तर शुल्क, घरजग्गा रजिष्ट्रेशन शुल्क तथा अन्य स्रोत समेटिएका छन्। गाउँपालिकाले नगद मौज्दाततर्फ ५ करोड रुपैयाँ समेत समावेश गरेको छ।

संघीय सरकारबाट ४१ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ। जसमा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा राजस्व बाँडफाँड मुख्य आधारका रूपमा रहेका छन्। यस्तै प्रदेश सरकारबाट पनि वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा सवारी कर बाँडफाँडमार्फत १५ करोड ७३ लाखभन्दा बढी स्रोत प्राप्त हुने प्रक्षेपण गरिएको छ।

व्ययतर्फ गाउँपालिकाले सबै वडाका योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ भने पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। शाखास्तरीय कार्यक्रम सञ्चालनका लागि ९ करोड ३७ लाख ६४ हजार १ सय २९ रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, गत आर्थिक वर्षका दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ राखिएको छ भने समपूरक प्रदेश योजनामा ३ करोड ५१ लाख, स्थानीय विशेष योजनामा २ करोड ५० लाख र साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ।

चालु खर्चतर्फ संघीय सशर्त कार्यक्रमका लागि १८ करोड ८६ लाख रुपैयाँ र सामान्य प्रशासनिक तथा सञ्चालन खर्चका लागि १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक तथा सार्वजनिक संरचना निर्माणका लागि थप ७० लाख रुपैयाँ व्यवस्था गरिएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटले स्थानीय स्रोतको परिचालनसँगै पूर्वाधार, सेवा प्रवाह र योजना कार्यान्वयनमा सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar