नीलकण्ठकाे १९ औं नगरसभा, आ व २०८३/०८४ को नीति तथा कार्यक्रम : सुशासन, रोजगारी र दिगो विकासमा जोड

नीलकण्ठकाे १९ औं नगरसभा, आ व २०८३/०८४ को नीति तथा कार्यक्रम : सुशासन, रोजगारी र दिगो विकासमा जोड

  • Kandara Samachar

  • बिहिबार, असार ४, २०८३

  • 35
    SHARES
नीलकण्ठकाे १९ औं नगरसभा, आ व २०८३/०८४ को नीति तथा कार्यक्रम : सुशासन, रोजगारी र दिगो विकासमा जोड
oplus_2

धादिङ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नगरसभाको १९ औं अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा विगतका उपलब्धिहरूको समीक्षा गर्दै आवधिक योजना (२०८२–२०८७), मध्यकालीन खर्च संरचना, संस्थागत क्षमता विकास योजना तथा दिगो विकास लक्ष्यको स्थानीयकरणलाई आधार बनाई सुशासन, रोजगारी सिर्जना, पूर्वाधार विकास, समावेशीता र सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।

विगतका उपलब्धिहरूको समीक्षा

नीलकण्ठ नगरपालिकाले विगत ९ वर्षमा संस्थागत विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा निरन्तर उत्कृष्ट रहँदै देशभरिका ७५३ स्थानीय तहमध्ये १ नम्बरमा कायम रहेको छ । संघीय सरकारको एकीकृत क्षमता मूल्यांकनमा समेत पहिलो स्थान हासिल गर्दै वेरुजु फस्यौंटमा ९९ दशमलव ९१ प्रतिशत सफलता प्राप्त गरेको छ ।

नगर करिडोर, चक्रपथ, नीलकण्ठेश्वर पार्क, धादिङबेशी वृहत् खानेपानी आयोजना, १४ वटै वडामा एक घर एक धारा, निःशुल्क एम्बुलेन्स सेवा, मेयर उद्यमशीलता कार्यक्रम, छात्रवृत्ति, मोबाइल भेटेनरी सेवा जस्ता कार्यक्रम प्रभावकारी रूपमा संचालन भएकाे नगरप्रमुख ढुंगानाले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभयाे ।

सुशासन तथा संस्थागत सुदृढीकरण

नगर कार्यपालिका र वडा कार्यालयहरूलाई प्रविधिमैत्री, जनमैत्री र चुस्त बनाउने, अनलाइन सेवा, डिजिटल फाइल प्रणाली, सेवा ट्र्याकिङ र इ–गभर्नेन्सलाई प्रभावकारी बनाउने योजना छ । LGPAS सुधार कार्ययोजना अनुसार स्थानीय सरकार कार्यसम्पादन मूल्यांकन प्रणालीलाई थप व्यवस्थित बनाइनेछ । टोल विकास संस्थासँग सहकार्य गरी नागरिक सहभागिता बढाइने छ । नयाँ रूपमा सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ ।

आवधिक योजना कार्यान्वयन

आवधिक योजना, मध्यकालीन खर्च संरचना र संस्थागत क्षमता विकास योजनालाई वार्षिक कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयन गरिनेछ । १४ वटै वडाको घरपरिवार तथा संस्थागत तथ्यांक अद्यावधिक गरी डिजिटल सर्भर स्थापना गरिनेछ ।

रोजगार, सीप विकास तथा उद्यमशीलता

“एक युवा एक सीप” अभियान सञ्चालन गरिनेछ । नगर रोजगार नीति अनुसार ५ वर्षे रोजगार रणनीति निर्माण हुनेछ । मेयर उद्यमशीलता कार्यक्रमलाई व्यापक बनाई स्टार्टअप सहायता, विजुली सहायता, परामर्श र बजार पहुँच कार्यक्रम सञ्चालन गरिनेछ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि विशेष कार्यक्रम र Returnee Volunteer परिचालन गरिनेछ । नयाँ रूपमा श्रम तथा रोजगार शाखा विस्तार गरिनेछ ।

स्थानीय आर्थिक विकास

“एक वडा एक उत्पादन” लाई “एक वडा एक पहिचान” मा स्तरोन्नति गरी ब्रान्डिङ, बजारीकरण र प्रवर्द्धन गरिनेछ ।

कृषि, पशुपालन तथा भेटेनरी

कृषिलाई व्यवसायीकरण गर्दै एकमुष्ट अनुदान कोष स्थापना गरिनेछ । मोबाइल भेटेनरी सेवालाई दिगो बनाउने, रैथाने बाली संरक्षण र विउ बैंक स्थापना गरिनेछ ।

शिक्षा

निःशुल्क शिक्षा कार्यक्रमलाई गुणस्तरीय र समुदाय स्वामित्वयुक्त बनाइने छ । शिक्षक क्षमता परीक्षण, अन्तरविद्यालय शिक्षक आदानप्रदान र नीलकण्ठ बहुमुखी क्याम्पसलाई सहयोग गरिनेछ ।

स्वास्थ्य, पोषण तथा सामाजिक सुरक्षा

आधारभूत स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, टेलिमेडिसिन, स्वास्थ्य बीमा विस्तार गरिनेछ । “जनतासँग मेयर स्वास्थ्य परीक्षण” र ज्येष्ठ नागरिक घरदैलो उपचार कार्यक्रमलाई निरन्तरता दिइनेछ । पतञ्जलि योग समितिसँग सहकार्य गरी योगलाई वडा र विद्यालयसम्म विस्तार गरिनेछ ।

सशक्तीकरण तथा समावेशीकरण

महिला सशक्तीकरण ऐन, दलित सशक्तीकरण ऐन कार्यान्वयन, बालमैत्री नगर घोषणा, ज्येष्ठ नागरिक, अपांगता तथा विपन्नलाई लक्षित सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।

युवा तथा खेलकुद

नगर युवा तथा खेलकुद विकास समिति गठन, खेलमैत्री नगर अभियान, युवा संग उपमेयर कार्यक्रम, रोजगार मेला, स्टार्टअप विज पुँजी र मेन्टरसिप कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर गौरवका आयोजना तथा पूर्वाधार

नगर करिडोर, चक्रपथ, नीलकण्ठेश्वर पार्कलाई बहुवर्षीय योजनामा सम्पन्न गरिनेछ । धादिङबेशी खुल्लामञ्चलाई बहुउद्देश्यीय खेलमैदान बनाइने छ । अधुरा आयोजना सम्पन्न गर्न प्राथमिकता दिइनेछ ।

पर्यटन, शहरीकरण, वातावरण तथा अन्य

पर्यटनलाई आर्थिक विकाससँग जोड्ने, Urban Homestay, तीन प्रमुख पर्यटन गन्तव्य घोषणा र ५ वर्षे रणनीति तयार पारिनेछ । व्यवस्थित शहरीकरणका लागि नमूना बस्ती र स्मार्ट बस्ती विकास, डिजिटल सहरी सुशासन नीति तथा eBPS प्रणाली लागू गरिनेछ । वातावरणमैत्री नगरपालिका घोषणा, दिगो विकास लक्ष्य स्थानीयकरण, खानेपानी बोर्ड मार्फत “एक घर एक धारा” पूर्णता, WASH योजना, मानवअधिकार प्रवर्धन, स्थानीय संस्कृति संरक्षण, सूचना प्रविधि नीति र नीलकण्ठ पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइनेछ ।

नगर प्रमुख ढुंगानाले यो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीलकण्ठ नगरपालिकाले विकासको स्पष्ट मार्गचित्र तयार पारेको बताउनुभयो । उहाँले अधुरा आयोजना सम्पन्न गर्ने, स्थापित कार्यक्रमलाई संस्थागत गर्ने र भावी पुस्तालाई बलियो जग छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“समृद्ध नीलकण्ठ नगर निर्माणको निरन्तर यात्रामा सबै नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको साथ आवश्यक छ,” उहाँले भन्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar