धादिङ ।
नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा विकास निर्माणतर्फ विनियोजित बजेटको करिब एक तिहाइ मात्र खर्च गरेको पाइएको छ।
नगरपालिकाको बजेट समीक्षा अनुसार असार ३ गतेसम्म पूँजीगत अर्थात् विकास खर्च ३० दशमलब १३ प्रतिशतमा सीमित भएको हो।
चालू आर्थिक वर्षका लागि पूँजिगत तर्फ ३७ कराेड ११ लाख ५० हजार ३३८ रुपैयाँ बिनियाेजना गरेकाेमा ११ महिनामा ११ कराेड १८ लाख ४१ हजार २८१ रुपैयाँ मात्र खर्च भएकाे बजेट समीक्षा गर्दै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयाे ।
आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा समेत विकास बजेटको ठूलो हिस्सा खर्च हुन नसक्दा नगरपालिकाको विकास निर्माणको गति सुस्त देखिएको गुनासाे नागरिकहरुकाे छ।
समीक्षा अवधिमा चालुतर्फको खर्च भने उल्लेखनीय देखिएको छ। चालु खर्चतर्फ विनियोजित बजेटको ८६ प्रतिशतभन्दा बढी खर्च भइसकेको भए पनि सडक, भवन, खानेपानी, सिंचाइ तथा अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित विकास खर्च अपेक्षाकृत न्यून रहेको तथ्यांकले देखाएको छ।
स्थानीय तहमा हरेक वर्षजस्तै विकास बजेट खर्च अन्तिम महिनातिर केन्द्रित हुने प्रवृत्ति दोहोरिने संकेत देखिएको छ। योजनाको ढिलो कार्यान्वयन, खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन, मौसमजन्य प्रभाव तथा अनुगमन प्रक्रियाका कारण पूँजीगत खर्च प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाको कुल बजेट १ अर्ब २६ करोड २९ लाख रुपैयाँ रहेकोमा असार ३ गतेसम्म ७० करोड १८ लाख रुपैयाँ खर्च भएको छ। समग्र खर्च प्रगति ५५.५७ प्रतिशत पुगे पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पूँजीगत खर्च भने निकै पछाडि परेको देखिएको छ।
यता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब २४ करोड ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ। नयाँ बजेटमार्फत विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको बताइए पनि चालु वर्षको कमजोर पूँजीगत खर्चले आगामी वर्ष बजेट कार्यान्वयनको चुनौतीसमेत उजागर गरेको छ।
विकास बजेट खर्चको अवस्था हेर्दा नीलकण्ठ नगरपालिकाले आगामी वर्ष योजनाको समयमै कार्यान्वयन, ठेक्का व्यवस्थापनमा सुधार तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउन नसके विकासका लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ। आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै योजनाको गुणस्तर र समयबद्ध कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता समीक्षा तथ्यांकले औंल्याएको छ।
नीलकण्ठ नगरपालिकाकाे १९ औँ नगर अधिवेशनमा नगर प्रमुख भिम ढुंगानाले नीति तथा कार्यक्रम र उपप्रमुख विश्वकर्माले बजेट प्रस्तुत गर्नुभयाे ।