नागरिककाे सुझाव अनुसार नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गल्छी गाउँपालिकाद्वारा प्रतिवद्धता

नागरिककाे सुझाव अनुसार नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गल्छी गाउँपालिकाद्वारा प्रतिवद्धता

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 50
    SHARES
नागरिककाे सुझाव अनुसार नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गल्छी गाउँपालिकाद्वारा प्रतिवद्धता

धादिङ ।

गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमालाई थप सहभागितामूलक, समावेशी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरेको राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम बुधबार सम्पन्न गरेको छ।

गाउँपालिकाको सभाहल बैरेनीमा आयोजित कार्यक्रममा स्थानीय तहमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न सङ्घसंस्था, सहकारी, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक सञ्जाल, आमा तथा महिला समूह, गल्छी बाल समूह सञ्जाल, युवा क्लब, सञ्चारकर्मीलगायत सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समग्र विकासका साथै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन, युवा तथा खेलकुद, महिला तथा बालबालिका, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलगायतका विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।

सहभागीहरूले स्थानीय आवश्यकता, जनचाहना तथा बालमैत्री अवधारणाअनुरूप नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विकास निर्माणका योजना छनोटदेखि कार्यान्वयनसम्म नागरिक सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नागरिकबाट प्राप्त सुझावलाई उच्च प्राथमिकताका साथ समेटेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिने बताउनुभयो। उहाँले स्थानीयवासीको आवश्यकता र अपेक्षाअनुसार विकासका कार्यक्रम ल्याउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले प्राप्त राय, सुझाव र सल्लाहका आधारमा जनमुखी तथा विकासमुखी नीति, कार्यक्रम र बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने जानकारी दिइयो।

कार्यक्रमको समापनसँगै सहभागीहरूले आगामी बजेट तथा कार्यक्रम जनमैत्री, समावेशी र विकासमुखी हुने विश्वास व्यक्त गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar