ज्वालामूखी पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चित पालिका घोषणा

ज्वालामूखी पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चित पालिका घोषणा

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 67
    SHARES
ज्वालामूखी पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चित पालिका घोषणा
oplus_2

धादिङ ।

ज्वालामूखी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा पूर्ण संस्थागत सुत्केरी (घरमा सुत्केरी शून्य) पालिका घोषणा भएको छ। गाउँपालिकामा आयोजित सुनिश्चितता तथा दीगोपना प्रमाणीकरण सभामार्फत उक्त घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा विशेष व्यवस्था गरिने बताउनुभयो। उहाँले खोप, संस्थागत सुत्केरी, आमा सुरक्षा कार्यक्रम, पोषण सुधार, स्वास्थ्य सरसफाइ तथा बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई गाउँ सरकारले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले बालबालिकाको खोप प्राप्त गर्ने अधिकार नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोप तालिका अनुसार सबै बालबालिकालाई खोप उपलब्ध गराउन र संस्थागत सुत्केरीलाई शतप्रतिशत सफल बनाउन ज्वालामूखी गाउँपालिकाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँले नागरिकले सरकार भएको अनुभूति गर्ने यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, ज्वालामूखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका उपलब्धिलाई दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार ज्वालामूखी गाउँपालिकामा जन्मेदेखि २३ महिनासम्मका एक सय ९९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। यस्तै चालु अवधिमा गाउँपालिकाभित्र एक सय ६ जनाले संस्थागत सुत्केरी गराएका छन्, जसमध्ये ४२ जना गर्भवती तथा सुत्केरी महिलालाई गाउँपालिकाबाट प्रेषण (रेफरल) सेवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दिगो बनाउने उद्देश्यसहित आयोजित सभामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। गाउँपालिकाले पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar