धादिङ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नो २४औँ साधारणसभाको अवसरमा संस्थाको स्थापना र विकासमा योगदान पुर्याएका अग्रज पत्रकार तथा संस्थापक पदाधिकारीहरूलाई सम्मान गरेको छ।
महासंघले संस्थापक उपसभापति बासु तिमल्सिना, संस्थापक कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा संस्थापक सदस्यहरू मोहनकुमार श्रेष्ठ, नवीनबन्धु पहाडी र उत्तम कँडेललाई सम्मानपत्रसहित सम्मान गरेको हो।
सम्मान कार्यक्रममा महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जिल्लामा पत्रकारिताको संस्थागत विकास, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन तथा श्रमजीवी पत्रकारहरूको अधिकार स्थापित गर्न प्रारम्भिक चरणमा अग्रजहरूले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताउनुभयो।
उहाँले पत्रकारिता क्षेत्र आजको अवस्थामा आइपुग्न पुरानो पुस्ताको अथक मेहनत, त्याग र समर्पणले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै ती अनुभव र योगदानलाई स्मरण गर्नु संस्थागत जिम्मेवारीसमेत भएको धारणा राख्नुभयो। पुराना पुस्ताको संघर्ष र उपलब्धिलाई सम्मान गर्दा नयाँ पुस्ताका पत्रकारमा पनि पेसाप्रति समर्पण, जिम्मेवारीबोध र गौरवको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।
सम्मानित व्यक्तित्वमध्ये संस्थापक उपसभापति बासु तिमल्सिनाले सम्मानले विगतका संघर्षपूर्ण दिनहरूको स्मरण गराएको बताउनुभयो। उहाँले स्रोत, साधन र अवसरको अभावका बाबजुद जिल्लामा पत्रकारिताको आधार निर्माण गर्न आफूहरू निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।
संस्थाले आफ्नो इतिहास र योगदानलाई सम्झिँदै पुराना सहयात्रीहरूको सम्मान गरेकोमा खुसी व्यक्त गर्दै तिमल्सिनाले यसले आफूहरूलाई अझै पनि समाज र पत्रकारिता क्षेत्रप्रति जिम्मेवार रहेको अनुभूति गराएको बताउनुभयो। उहाँले नयाँ पुस्ताका पत्रकारलाई सत्य, तथ्य र व्यावसायिक मर्यादालाई केन्द्रमा राखेर पत्रकारिता गर्न सुझाव दिनुभयो।
महासंघले पत्रकारिता क्षेत्रको विकासमा अग्रजहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै पुस्तान्तरणबीच अनुभव र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।