पत्रकार महासंघ धादिङकाे २४ औँ  साधारणसभामा संस्थापकलाई सम्मान, शाहकाे शालिक  अनावरण

पत्रकार महासंघ धादिङकाे २४ औँ  साधारणसभामा संस्थापकलाई सम्मान, शाहकाे शालिक  अनावरण

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २०, २०८३

  • 54
    SHARES
पत्रकार महासंघ धादिङकाे २४ औँ  साधारणसभामा संस्थापकलाई सम्मान, शाहकाे शालिक  अनावरण

सरकारलाई कठघरामा उभ्याउने बेला भएकाे छैन : साम्सद श्रेष्ठ 

धादिङ,  ।

धादिङ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले वर्तमान सरकारलाई आलोचना गर्ने वा कठघरामा उभ्याउने समय अझै नआएको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाको २४औँ साधारणसभा उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सांसद श्रेष्ठले सरकार गठन भएको छोटो समय मात्रै भएकाले यसको कार्यसम्पादनको समीक्षा गर्न हतार गर्न नहुने धारणा व्यक्त गर्नुभयो।

उहाँले संसदीय अभ्यासअनुसार नयाँ सरकार गठनपछिको प्रारम्भिक १०० दिनलाई ‘हनिमुन पिरियड’का रूपमा लिइने उल्लेख गर्दै सो अवधिभित्र सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आधार तयार गर्ने बताउनुभयो। देश र जनताको विकास तथा समृद्धिका लागि सरकार निरन्तर लागिरहेको दाबी गर्दै सञ्चार क्षेत्रलाई सरकारका सकारात्मक कामहरूमा समेत ध्यान दिन आग्रह गर्नुभयो।

पत्रकारहरूतर्फ प्रश्न गर्दै सांसद श्रेष्ठले भन्नुभयो, “हनिमुन पिरियड कटाउन नसकेको सरकारलाई यतिधेरै प्रश्नहरू अलि बढी नै भयो कि ? सञ्चारमैत्री कानून नबनेको दोष पनि यही सरकारले लिनुपर्ने हो र ? त्यसका लागि आन्दोलन गर्ने बेला भयो ? यो आन्दोलन पहिल्यै गर्नुपर्ने होइन ? कहिलेकाहीँ सही प्रश्न सही समयमा भनिएन भने त्यसको सही उत्तर आउँदैन।”

उहाँले सञ्चार क्षेत्रबाट उठाइने प्रश्नहरू समयसापेक्ष र सान्दर्भिक हुनुपर्नेमा जोड दिँदै सञ्चारमैत्री कानुन निर्माण नभएको विषयलाई वर्तमान सरकारसँग मात्रै जोडेर हेर्न नमिल्ने बताउनुभयो। पत्रकारहरू आफैँमा सक्षम, सवल र प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता औँल्याउँदै पत्रकारिताको व्यावसायिक विकासमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारहरूको हकहित, पेसागत सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि महासंघ जुनसुकै परिस्थितिमा पनि तयार रहेको बताउनुभयो। महासंघ नै पत्रकारहरूको सबैभन्दा ठूलो सम्पत्ति र उपलब्धि भएको उल्लेख गर्दै पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा थपिएका चुनौतीहरूको सामना गर्न महासंघ सक्रिय रहेको धारणा राख्नुभयो।

उहाँले अबका दिनमा मौखिक प्रतिबद्धताभन्दा संस्थागत निर्णय र कामहरूलाई लिखित रूपमा दस्ताबेजीकरण गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। आमसञ्चार माध्यमलाई विश्वसनीय, मर्यादित र प्रभावकारी बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना तथा नयाँ प्रविधिसम्बन्धी ज्ञान अपरिहार्य रहेको भन्दै यसतर्फ महासंघले विशेष ध्यान दिने बताउनुभयो।

त्यसैगरी महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार तथा पत्रकारिताको संस्थागत विकासका लागि आर्थिक पारदर्शिता र दिगोपन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। महासंघ मातहत रहेका विभिन्न कल्याणकारी तथा पुरस्कार कोषहरूलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि निर्माण गर्न सुझाव दिँदै कार्यविधिको आधारमा सञ्चालन हुँदा अक्षय कोष तथा पुरस्कार कोषहरू थप पारदर्शी, मर्यादित र दीर्घकालीन बन्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल प्रेस युनियनका डा. मुरारी अधिकारी, प्रेस चौतारी नेपाल धादिङका अर्जुन श्रेष्ठ, प्रेस सेन्टर नेपाल धादिङका नीर तामाङ, स्वर्गीय राजेन्द्रप्रताप शाहकी धर्मपत्नी इश्वरी मल्ल तथा महासंघका संस्थापक उपसभापति बासु तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाको अवसरमा महासंघले जिल्लामा व्यावसायिक पत्रकारिताको जग बसाल्न तथा श्रमजीवी पत्रकारहरूको हकहितका लागि सुरुवाती दिनमा महत्वपूर्ण योगदान पुर्‍याउने अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा महासंघ धादिङका संस्थापक उपसभापति बासु तिमल्सिना, कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा सदस्यहरू मोहनकुमार श्रेष्ठ, नवीनबन्धु पहाडी र उत्तम कँडेल रहेका छन्।

महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जिल्लामा पत्रकारिता क्षेत्रको संस्थागत विकास, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन तथा श्रमजीवी पत्रकारहरूको अधिकार स्थापनाका लागि अग्रजहरूले पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान गरिएको बताउनुभयो।

साधारणसभामा पत्रकारिता क्षेत्रका वर्तमान चुनौती, प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेसागत सुरक्षा, सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरण तथा पत्रकारितालाई प्रविधिमैत्री र व्यावसायिक बनाउने विषयमा समेत व्यापक छलफल भएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar