- धादिङ ।
जनस्वास्थ्य कार्यालय धादिङ काे आयोजनामा गंगाजमुना गाउँ पालिका-७ बुढाथुममा सञ्चालन गरिएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ८१९ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा विशेषज्ञ चिकित्सकमार्फत दन्त, नाक-कान-घाँटी, बालरोग, हाडजोर्नी, मुटु परीक्षण, आँखा, स्त्रीरोग, भिडियो एक्सरे (यूएसजी), परिवार नियोजन लगायतका सेवा प्रदान गरिएको थियो।
शिविरमा दन्त सेवातर्फ ९१ जनाले उपचार गराएका छन् भने २५ जनाको दाँत निकालिएको थियो। ३ जनालाई थप उपचारका लागि धादिङ अस्पताल रिफर गरिएको आयोजकले जनाएको छ। नाक-कान-घाँटीतर्फ ४५, बालरोगतर्फ २३ तथा हाडजोर्नीतर्फ ९३ जनाले सेवा लिएका थिए।
इसीजी सेवाबाट ७१ जनाको परीक्षण गरिएको थियो भने २ जनालाई थप उपचारका लागि रिफर गरिएको थियो। यस्तै जनरल फिजिसियन सेवाबाट ४ सय ६१ जनाले उपचार लिएका थिए, जसमा ११ जनालाई रिफर गरिएको छ।
आँखा सेवातर्फ पहिलो दिन १७१ र दोस्रो दिन १६४ गरी कुल ३३५ जनाले सेवा लिएका थिए। मोतियाबिन्दुका १ जना बिरामी पहिचान भएका छन् भने २४ जनालाई आईएमएससी सेवा तथा २२ जनालाई एआरसी सेवा दिइएको थियो।
यूएसजी सेवाबाट १४० जनाको परीक्षण गरिएको थियो। स्त्रीरोग सेवातर्फ ११७ जनाले सेवा लिएका थिए। शिविरमा परिवार नियोजनतर्फ १ जनाले इम्प्लान्ट, १ जनाले आईयूसीडी तथा १ जनाले भ्यासेक्टोमी सेवा लिएका थिए।
एउटै व्यक्तिले २/३ प्रकारका समेत सेवा लिएकाे र यसरी हेर्दा १ हजार ३७९ किसिमकाे सेवा लिएकाे देखिएकाे जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी ताेया छत्कुलीले जानकारी दिनुभयाे ।
धादिङ अस्पतालका चिकित्सक टाेलीले स्वास्थ्य शिविरमा विरामी परिक्षण, उपचार तथा औषधी वितरण गरेकाे थियाे ।
दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।
बागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नुभएकाे शिविरमा गाउँ पालिका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, धादिङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकाेटा लगायतकाकाे उपस्थिति थियाे । स्थानीय बासी घरदैलाेमा सेवापाएपछि खुसि भएका छन् ।