धादिङ अस्पतालमा बर्न (जलन) उपचार सेवा सुरु हुने, ईएमआर प्रणाली पनि सञ्चालनमा

धादिङ अस्पतालमा बर्न (जलन) उपचार सेवा सुरु हुने, ईएमआर प्रणाली पनि सञ्चालनमा

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १५, २०८३

  • 149
    SHARES
धादिङ अस्पतालमा बर्न (जलन) उपचार सेवा सुरु हुने, ईएमआर प्रणाली पनि सञ्चालनमा
oplus_2

धादिङ ।

धादिङ अस्पतालमा आगामी वर्षदेखि बर्न (जलन) सम्बन्धी उपचार सेवा सञ्चालन हुने भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धादिङ अस्पतालसहित प्रदेशका दुई वटा अस्पतालमा बर्न उपचार सेवा सुरु गर्ने तयारी गरेको हो ।

धादिङ अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली औपचारिक रूपमा सुरु गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले हाल बर्न उपचार सेवा सञ्चालनका लागि योजना निर्माणको चरणमा रहेको जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनको तयारी भइरहेको बताए । धादिङमा बर्न उपचार सेवा सुरु भएपछि जलनका बिरामीलाई उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री थापाले ईएमआर प्रणाली लागू भएपछि अस्पताल र सेवाग्राही दुवैलाई सहजता हुने बताए । स्वास्थ्य सेवा डिजिटल माध्यममा अभिलेखीकरण हुँदा सेवा प्रवाह छिटो, मितव्ययी र प्रभावकारी हुने तथा सुशासन कायम गर्न सहयोग पुग्ने उनले उल्लेख गरे ।

उनले अस्पतालमा उपकरण र जनशक्तिको अभाव रहेको स्वीकार गर्दै आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा उपकरण व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । तत्काल डायलाइसिस मेसिन थप गर्ने, अस्पतालको नाममा जग्गा व्यवस्था गर्ने तथा आवश्यक भवन निर्माणका लागि बजेट विनियोजन गरिने उनले बताए ।

बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ईएमआर प्रणालीले सेवा प्रवाह प्रभावकारी हुनुका साथै अस्पतालले गरेका कामको लेखाजोखा गर्न सहज हुने बताइन् । कागजी प्रक्रियाको झन्झट अन्त्य हुने, उपचारमा गुणस्तर कायम हुने, डेटा सुरक्षा तथा दीर्घकालीन अभिलेख राख्न सहयोग पुग्ने उनको भनाइ थियो ।

निमित्त अस्पताल निर्देशक त्रिभुवन चन्द्र झाले ईएमआर प्रणालीमार्फत बिरामीको टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता तथा औषधिसम्बन्धी विवरण सहजै प्राप्त गर्न सकिने बताए । उनले यस प्रणालीले बिरामीको विगतदेखि वर्तमानसम्मका स्वास्थ्य विवरण एकै ठाउँमा उपलब्ध गराउने बताए ।

कार्यक्रमका अध्यक्ष धादिङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकाेटालेअस्पताल पेपरलेस बनाउँदा सेवाग्राहीकाे पहुँच र उपचारसेवा प्रभावकारी भएकाे बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar