धादिङ ।
गंगाजमुना गाउँपालिका–५ फुलखर्कस्थित गंगाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा मन्त्री थापाले संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनुभयो । उहाँले गंगाजमुना आधारभूत अस्पताललाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार तथा अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
संघीय मामला मन्त्रालयकाेसहयाेगमा करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको अस्पताल सरकारी मापदण्डअनुसार पाँच शय्याको रहेको गाउँपालिकाले जनाएको छ । हाल अस्पताल स्थानीय तहले सञ्चालन गरिरहेको छ ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कुमार बहादुर अधिकारीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा गाउँपालिका अध्यक्ष भक्त लामा, गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, धादिङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटा लगायतले अस्पतालको सेवाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीका अनुसार गंगाजमुना आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालमा भिडियो एक्स–रे, इसिजी, ल्याब, एक्स–रे सेवा सञ्चालनमा रहेका छन् । साथै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु पनि सञ्चालन गरिएको छ ।
यस गाउँपालिकाले २०७६ पुस २६ गते नेपालमै पहिलो पटक ग्रामीण क्षेत्रमा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसबेला पुरानो तथा सानो भवनबाट सेवा सुरु गरिएको थियो । नयाँ भवन निर्माणसँगै स्थानीयवासीले थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।