दिनमा ८ सय फाेटाे खिचेका डल्लाकाेटी पहिलाे फाेटाेग्राफरकाे रुपमा सम्मानित

दिनमा ८ सय फाेटाे खिचेका डल्लाकाेटी पहिलाे फाेटाेग्राफरकाे रुपमा सम्मानित

  • Kandara Samachar

  • आइतवार, बैशाख १३, २०८३

  • 80
    SHARES
दिनमा ८ सय फाेटाे खिचेका डल्लाकाेटी पहिलाे फाेटाेग्राफरकाे रुपमा सम्मानित

 

धादिङ ।

धादिङका पहिलो फोटोग्राफरका रूपमा चिनिएका महेन्द्र डल्लाकोटीलाई ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा सम्मान गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह धादिङले आइतबार धादिङबेसीमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरेको हो ।

बेनीघाट रोराङ गाउँपालिका–१० निवासी ८२ वर्षीय डल्लाकोटीले २०२२ सालदेखि रुचिका रूपमा फोटोग्राफी सुरु गरी २०३२ सालदेखि व्यावसायिक रूपमा फोटो खिच्न थालेको बताउनुभयो ।

सम्मानपछि आफ्नो अनुभव सुनाउँदै उहाँले त्यतिबेला जिल्लामा फोटो खिच्ने व्यक्ति अत्यन्त कम रहेको स्मरण गर्नुभयो । धादिङ, गोरखा, चितवनलगायत जिल्लामा पुगेर नागरिकता लगायतका प्रयोजनका लागि फोटो खिच्ने गरेको उहाँले बताउनुभयो ।

“एकैदिन ८ सयसम्म फोटो खिचेको अनुभव छ,” उहाँले भन्नुभयो, “त्यतिबेला फोटो खिचाउनेको निकै भीड लाग्थ्यो ।”

उहाँले हिमाल, पहाड, प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा तथा सामाजिक गतिविधिका तस्बिरसमेत खिचेको उल्लेख गर्नुभयो । अहिले डिजिटल प्रविधिको युग आए पनि फोटोग्राफी क्षेत्रको भविष्य उज्ज्वल रहेको उहाँको भनाइ थियो ।

“प्रविधिसँगै आफूलाई परिमार्जित गर्दै जाने हो भने फोटोग्राफीमा अझै धेरै सम्भावना छ,” उहाँले भन्नुभयो ।

६ दशकभन्दा बढी समय फोटोग्राफी क्षेत्रमा सक्रिय डल्लाकोटीको परिवारले अहिले धादिङसहित विभिन्न जिल्लामा स्टुडियो सञ्चालन गर्दै आएको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह धादिङका अध्यक्ष मनिष दुवाडीले पुराना पुस्ताको योगदानको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समूहमा हाल ४४ जना सदस्य आबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

धादिङमा फोटो पत्रकारिताको सुरुआत २०५४ सालदेखि भएको मानिन्छ । स्वर्गीय राजेन्द्र प्रताप शाहको फोटो पहिलो पटक राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि जिल्लामा फोटो पत्रकारिताले गति लिएको स्थानीय पत्रकारहरूको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar