गल्छीका दुई स्थानमा प्रजनन स्वास्थ्य शिविर, १५९ जनाले सेवा लिए

गल्छीका दुई स्थानमा प्रजनन स्वास्थ्य शिविर, १५९ जनाले सेवा लिए

  • Kandara Samachar

  • मङ्लबार, चैत्र २४, २०८२

  • 102
    SHARES
गल्छीका दुई स्थानमा प्रजनन स्वास्थ्य शिविर, १५९ जनाले सेवा लिए

विशम श्रेष्ठ /धादिङ,

धादिङको गल्छी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट १५९ जनाले सेवा लिएका छन्।

शिविरमार्फत महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान, आङ खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला तथा यौनरोग सम्बन्धी परीक्षण र उपचार सेवा प्रदान गरिएको हो।

गल्छी गाउँपालिका–३ आमडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरमा २१ जनाले सेवा लिएका थिए। सो शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि गरिएको VIA परीक्षण २१ जनामा गरिएकोमा कसैमा पनि ‘VIA positive’ देखिएको छैन। यस्तै, ४ जनाले यौनरोग सम्बन्धी जाँच तथा उपचार सेवा लिएका छन् भने २१ जनाको स्तन क्यान्सर प्रारम्भिक जाँच गरिएको थियो। आङ खस्ने समस्या भएका बिरामी नदेखिएको र ५ जनामा अन्य सामान्य समस्या देखिएकाले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।

यसैगरी, गल्छी गाउँपालिका–२ केउरिनीटारमा सञ्चालन गरिएको शिविरमा १३८ जनाले सेवा लिएका छन्। उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि १२० जनामा VIA परीक्षण गरिएकोमा ६ जनामा ‘VIA positive’ देखिएको छ। यौनरोग सम्बन्धी जाँच तथा उपचार सेवा ४५ जनाले लिएका छन् भने स्तन क्यान्सर प्रारम्भिक स्क्रिनिङमा १३८ जना सहभागी भएका थिए। आङ खस्ने समस्या भएका ४ जनामा रिङ पेसरी राखेर उपचार गरिएको छ भने ६ जनाको अन्य स्वास्थ्य समस्या पनि शिविरमै व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।

महिलाहरूको प्रजनन स्वास्थ्यमा देखिने समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता शिविर प्रभावकारी भएको सरोकारवालाहरूले बताएका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न र गम्भीर रोगहरूको प्रारम्भिक चरणमै पहिचान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar