धादिङ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा अवस्थित पवित्र संगमस्थल बुढीगण्डकी नदी नेत्रावती नदिकाे संगमस्थलमा रहेकाे नृसिंहधाममा श्री नृसिंहधाम पुरुषोत्तम महामहोत्सव को तयारी सुरु गरिएको छ। महोत्सवलाई व्यवस्थित र भव्य बनाउन मूल आयोजक समितिले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
आयोजक समितिका अनुसार यही फागुन ३० गते दिउँसो १ बजे धादिङबेसीमा पत्रकार अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघकाे हलमा आयाेजना गर्न लागिएकाे मूल व्यवस्थापन समिति संयाेजक फणिकान्त छत्कुलीले बताउनुभयाे ।
धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने श्री नृसिंहधाम स्कन्द पुराण अन्तर्गत उल्लेखित विश्वधारा माहात्म्य लगायतका शास्त्रीय प्रमाणमा वर्णन गरिएको तीर्थस्थल मानिन्छ। धार्मिक विश्वासअनुसार भगवान् नृसिंह यही क्षेत्रमा प्रकट भई लीला गर्नुभएको मान्यता छ।
उक्त क्षेत्रमा गरिएको उत्खननबाट करिब १७०० वर्ष पुराना पुरातात्विक अवशेष फेला परेको बताइँदै आएको छ। साथै भक्त प्रल्हादको तपोबलद्वारा स्थापित भनिने १२ नृसिंह पीठमध्ये नेपालमा रहेको एकमात्र पीठ पनि यही धाम रहेको धार्मिक विश्वास छ।
प्रत्येक तीन वर्षमा पर्ने पुरुषोत्तम (अधिक) महिना मा भगवान् नृसिंहदेवसँग सम्बन्धित विशेष धार्मिक महोत्सव आयोजना हुँदै आएको छ। यस वर्षको महोत्सवलाई अझ भव्य बनाउन श्रीवास कृष्णदास ब्रमहाचार्यको सत्संकल्पमा सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ को पूर्णाहुति पनि यही अवधिमा सम्पन्न गरिने तयारी गरिएको आयोजकले जनाएको छ।
महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय होटल व्यवसाय, यातायात, कृषि उत्पादन तथा साना व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। देश–विदेशबाट ठूलो संख्यामा तीर्थयात्री तथा पर्यटक आगमन हुँदा स्थानीय रोजगारी सिर्जना, किसानको उत्पादनको बजार विस्तार तथा सांस्कृतिक पहिचान प्रवर्द्धन हुने विश्वास आयोजक समितिको छ।
महोत्सवको प्रचार–प्रसारका लागि फागुन ३० गतेदेखि चैत २३ गतेसम्म २५ दिन देशव्यापी रथयात्रा सञ्चालन गर्ने तयारी गरिएको छ।
श्री नृसिंहधाम पुरुषोत्तम महामहोत्सव मूल आयोजक समितिका संयोजक छत्कुलीले महोत्सवलाई सफल बनाउन सञ्चार माध्यम र पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सहयोग तथा समन्वयका लागि अनुरोध गर्नुभएको छ।