धादिङ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न जिल्ला सुरक्षा समिति धादिङले शिक्षा र स्वास्थ्य सम्बन्धि निकायहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेकाे छ
आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। उहाँले निर्वाचन आचारसंहिता कार्यान्वयनका क्रममा कुनै पनि संस्था वा निकायबाट आचारसंहिता विपरीतका गतिविधि हुन नहुने स्पष्ट पार्नुभयो।
प्रमुख जिल्ला अधिकारी सुवेदीले विशेषगरी निर्वाचन अवधिभर राहत वितरण, अनुदान कार्यक्रम, विकासका नाममा हुने वितरणमुखी गतिविधि तथा जनतालाई प्रभावित पार्न सक्ने कार्यक्रमहरू स्थगित गर्न आग्रह गर्नुभयो। “निर्वाचनको समयमा गरिने यस्ता गतिविधिले मतदातामा प्रभाव पार्ने सम्भावना रहने भएकाले सबै शिक्षाका निकाय र स्वास्थ्य संस्थाले सजगता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो।
सहभागिहरुले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै आचरण र आचारसंहिता पालना गर्ने बताएका छन्
सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमित खड्का तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। सहभागी सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिभर शान्ति–सुरक्षा व्यवस्थापन कडा पारिने र आचारसंहिता उल्लंघनका घटनामा कानुनी कारबाही गरिने जानकारी दिएका थिए।
जिल्ला सुरक्षा समितिले निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सम्पूर्ण संघ–संस्था तथा नागरिकलाई अपिल गरेको छ।