धादिङ ।
निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जिल्ला निर्वाचन कार्यालय धादिङले सार्वजनिक गरेको सूचनाअनुसार आयोगबाट स्वीकृत निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत फागुन ३ देखि १७ गतेसम्म जिल्लाका १३ स्थानीय तहका १०४ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक (Voter Education Volunteer) परिचालन गरिनेछ।
स्वयंसेवकहरूले आम मतदातालाई मतदानको महत्व, प्रक्रिया, मतदाता नामावली, मतपत्र प्रयोग तथा मतदान केन्द्रमा पालना गर्नुपर्ने नियमबारे जानकारी गराउनेछन्। साथै, मतदातालाई भोट हाल्न उत्प्रेरित गर्ने उद्देश्यले बस्ती तथा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।
यसैबीच, स्थानीय तहमा नियुक्त निर्वाचन सम्पर्क व्यक्तिहरूलाई मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा खटाइएको छ। उनीहरूलाई मिति २०८२/१०/२५ गते जिल्ला निर्वाचन कार्यालय धादिङमा एकदिने मुख्य प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षित सम्पर्क व्यक्तिहरूले सम्बन्धित स्थानीय तहका स्वयंसेवकहरूलाई प्रशिक्षण दिई वडा तथा बस्ती स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गराउनेछन्।
निर्वाचनमा मतदाताको सहभागिता वृद्धि गर्ने र बदर मतको अनुपात घटाउने उद्देश्यले यो कार्यक्रम महत्वपूर्ण मानिएको छ। कार्यक्रम सफल बनाउन सहयोग, समन्वय र सहकार्यका लागि जिल्ला निर्वाचन कार्यालयले सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।