ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  • Kandara Samachar

  • आइतवार, माघ २६, २०८२

  • 100
    SHARES
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

धादिङ

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा शनिबार कलंकी एडमार्क कलेजमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन धादिङ जिल्लाको पहिलो आदर्श हाईस्कूलका संस्थापक प्रधानाध्यापक, अंग्रेजी विषयका आदरणीय गुरु, पूर्व राज्यमन्त्री तथा प्रमुख अतिथि ठाकुरप्रसाद शर्माले गर्नुभएको थियो। उहाँले २०२५ साल पौष ५ गते जिल्लाको पहिलो हाईस्कूल स्थापना गर्दाको अनुभव स्मरण गर्दै स्थापनाकालका ९ जना शिक्षक तथा ५ जना संस्थापक संचालक समिति पदाधिकारी तथा सदस्यहरूको सम्मानमा पुरस्कार स्थापना गरी पूर्व विद्यार्थीहरूको अगुवाइमा प्रतिष्ठान दर्ता भएको दिन नै आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण भएको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथिहरूमा संस्थापक शिक्षक तथा सहायक हेडसर सुमनदास श्रेष्ठ, आदर्श शिक्षक पुरस्कार सिफारिस समितिका संयोजक तथा धादिङका विद्वान व्यक्तित्व सहप्राध्यापक डा. रामहरि लम्साल, प्रतिष्ठानका सल्लाहकार तथा धादिङ जिल्लामा पढेर एसएलसी पास गर्ने पहिलो विद्यार्थी (२०२६ साल) राजेन्द्रप्रसाद पाण्डे, आजीवन सदस्यहरू चौथो ब्याच (२०२९) का विद्यार्थी तथा समिभन्ज्याङ मावि मैदीका संस्थापक प्रधानाध्यापक रामप्रसाद अधिकारी र गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाको उपस्थिति रहेको थियो। उहाँहरूले शुभकामना मन्तव्य दिनुभएको थियो।

साधारण सभाले कार्य समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वार्षिक कार्य योजना पारित गरेको छ।

कार्यक्रमकै अवसरमा रामप्रसाद अधिकारीले आफ्ना पिता तथा समिभन्ज्याङ निमावि र मावि मैदी उखुबारीका संस्थापक संचालक समिति अध्यक्ष मुक्तिनाथ अधिकारीको स्मृति र सम्मानमा पाँच छोराहरू—रामप्रसाद अधिकारी, भरतराज अधिकारी, सुरेन्द्र अधिकारी, नरेन्द्र अधिकारी र विजय शर्मा अधिकारी—मिलेर १० लाख रुपियाँको अक्षयकोष स्थापना गरी ‘मुक्तिनाथ अधिकारी शिक्षासेवा तथा समाजसेवा सम्मान’ स्थापना गरिएको तथा उक्त सम्मानको व्यवस्थापनका लागि प्रतिष्ठानसँग सम्झौता गरिएको घोषणा गर्नुभयो। त्यसैगरी कार्यसमितिका सदस्य इञ्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना पिताको स्मृतिमा रू. २५ हजार राशिको ‘मदनदास श्रेष्ठ पत्रकारिता सम्मान’ प्रतिष्ठानमार्फत स्थापना गरिएको जानकारी गराउनुभयो। प्रतिष्ठानले दुवै सम्मानका संस्थापकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिष्ठान स्थापनाको १४ महिना (२०८१ मंसीर ४ देखि २०८२ माघ २४) को अवधिमा उल्लेखनीय प्रगति हासिल भएको प्रतिवेदन सार्वजनिक गरिएको छ। हाल प्रतिष्ठानमा १७४ जना आजीवन सदस्य छन्, जसमा ३२ महिला र १४२ पुरुष छन्। तीमध्ये १५३ जना आदर्श माविका पूर्व विद्यार्थी र २१ जना शिक्षासेवी तथा शुभेच्छुक हुन्। २० जना आजीवन सदस्य अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया र जापानलगायत देशमा रहेका छन्।

आजीवन सदस्यहरूबाट हालसम्म रू. ३२ लाख २० हजार २४० अक्षयकोषमा जम्मा भएको छ। यसमध्ये ६ जनाले रू. १ लाखदेखि १ लाख ३५ हजारसम्म तथा २० जनाले रू. ५० हजारभन्दा माथिको योगदान गरेका छन्।

उक्त अक्षयकोषबाट प्रदान गरिने पुरस्कारहरूमा:
१. ठाकुरप्रसाद शर्मा पुरस्कार (राष्ट्रिय स्तर) – रू. ५१,०००
२. आदर्श शिक्षक पुरस्कार (जिल्ला स्तर) – रू. २५,०००
३. आदर्श शिक्षासेवी पुरस्कार (जिल्ला स्तर) – रू. २५,०००
४. आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार (विद्यालय स्तर) – रू. १०,०००
५. आदर्श उत्कृष्ट छात्रा पुरस्कार (विद्यालय स्तर) – रू. १०,०००

त्यसैगरी, आजीवन सदस्यहरूले व्यक्तिगत तथा पारिवारिक रूपमा प्रतिष्ठानमार्फत स्थापना गरेका सम्मान तथा छात्रवृत्तिहरू यसप्रकार छन्:
६. दुर्गा साहित्य पुरस्कार (रू. १५,०००) – संस्थापक शिवप्रसाद अधिकारी
७. टंकप्रसाद–देवकी खतिवडा समाजसेवा पुरस्कार (रू. २५,०००) – संस्थापक सरस्वती शर्मा खतिवडा र अजित खतिवडा
८. मुक्तिनाथ अधिकारी शिक्षासेवा तथा समाजसेवा सम्मान (रू. २५,०००) – संस्थापक रामप्रसाद अधिकारी परिवार
९. मदनदास श्रेष्ठ पत्रकारिता सम्मान (रू. २५,०००) – संस्थापक इ. अर्जुनकुमार श्रेष्ठ
१०. जीवनारायण कँडेल स्मृति छात्रवृत्ति (रू. १०,०००) – संस्थापक रोजनाथ कँडेल

साधारण सभाले सबै आजीवन सदस्यहरू तथा पुरस्कार/सम्मानका संस्थापकहरूप्रति हार्दिक आभार प्रकट गर्दै आदरणीय गुरुहरू, अग्रज शिक्षासेवी तथा समाजसेवीहरूप्रतिको सम्मान र होनहार नवप्रतिभाहरूको हौसलाका लागि अभियान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैबीच, सहप्राध्यापक डा. रामहरि लम्सालको संयोजकत्वमा गठित आदर्श शिक्षक पुरस्कार सिफारिस समितिले धादिङ जिल्लाका गुरुकुल शिक्षाका मुर्धन्य पण्डित तथा पहिलो सरकारी शिक्षक स्व. पूर्णानन्द भट्टलाई मरणोपरान्त आदर्श शिक्षक पुरस्कार प्रदान गर्न सिफारिस गरेको छ। त्यसैगरी, समाजसेवी चन्द्रमणि पाठकको संयोजकत्वमा गठित आदर्श शिक्षासेवी पुरस्कार सिफारिस समितिले आदर्श हाईस्कूल स्थापनाका क्रममा सबैभन्दा बढी आर्थिक सहयोग गर्ने, महत्वपूर्ण बैठकहरू आयोजना गर्न घर उपलब्ध गराउने सहजकर्ता, संचालक समितिका दोस्रो अध्यक्ष (२०२७ साल) तथा दुई दशकभन्दा बढी विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रूपमा योगदान पुर्‍याएका स्व. रामदास श्रेष्ठलाई मरणोपरान्त आदर्श शिक्षासेवी पुरस्कार प्रदान गर्न सिफारिस गरेको छ।

प्रतिष्ठानले दुबै महान व्यक्तित्वलाई प्रेरणाका स्रोतका रूपमा स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेको छ।

अब आगामी वर्ष २०८३ मङ्सिर ४ गते प्रतिष्ठान स्थापनाको अवसरमा साधारण सभा, पुरस्कार अर्पण समारोह, वार्षिकोत्सव तथा रमाइलो पुनर्मिलन कार्यक्रम गजुरीमा आयोजना गरिने जानकारी दिइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar