धादिङ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान संचालन गर्नका लागि नीलकण्ठ नगरपालिकाले तयारी गरेको छ ।
शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै नीलकण्ठ नगरपालिकाले किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तयारी र प्रचारप्रसरको काम गरिरहेको छ ।
नीलकण्ठ नगरपालिकाका ३८ विद्यालयका ५ सय ६७ जना कक्षा ६ मा अध्यायनरत किशोरीहरु, विद्यालय बाहिर रहेका ३ जना १० वर्ष उमेरका किशोरीहरु र गतवर्ष एचपिभि खोप अभियानमा छुटेका १६ जना गरि ५ सय ८६ जना किशोरीलाई खोप लगाइने नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठका ३८ विद्यालय खोकेन्द्रबाट माघ २७ गतेदेखि एचपिभि खोप लगाइने छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम एपपिभि खोपबारे जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिँदै महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरबाट दोश्रो नम्बरमा पर्ने बताउनुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख लगायतको सहभागिता थियो ।
धादिङको नीलकण्ठ नगरपालिकामा गतवर्ष संचालन गरिएको स्कृनिङ शिविरमा ५ जनामा पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थाको देखिएकोले धादिङ अस्पतालमा उपचार गरि समस्या समाधान भएको जानकारी दिइएको थियो ।
नीलकण्ठ नगरपालिकामा ६६ जनालाई क्यान्सर लागो कारण गतवर्ष १ लाखसम्मको उपचार गर्न सिफारिस गरिएकोमा २२ जना पाठेघरको मुखको क्यान्सरको विरामी रहेको स्वास्थ्य शाखाप्रमुख रिजालले बताउनुभयो ।