खनियाबास निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ ले सेवा लिए

खनियाबास निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ ले सेवा लिए

  • Kandara Samachar

  • सोमवार, मंसिर ३०, २०८२

  • 188
    SHARES
खनियाबास निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ ले सेवा लिए

धादिङ

उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर ४ स्थित खनियाबास ग्रामीण अस्पतालमा संचालित २ दिने

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ जनाले सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण गरिएकाे थियाे ।

शिविरमा महिला सम्बन्धी १ सय ७७ जना, हाडजोर्नी सम्बन्धी २ सय ६५, दाँत सम्बन्धी १ सय ७०, इन्टरनल मेडिसिन सम्बन्धी १ सय ६० जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो। सेवा लिएकामध्ये १ सय ४० जनाको दाँत निकालिएको, १५० जनाको भिआइए जाँच, १ सय ६० जनाको भिडियो एक्सरे र ५६ जनाको एक्सरे गरिएको थियो ।

दुर्गम भेगमा बसोबास गर्ने तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्वास्थ्य सेवाबाट वंचित नागरिकहरुले सेवा लिएका थिए । शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, परामर्श, भिडियाे एक्सरे, उपचार तथा औषधि वितरण सेवा प्रदान गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका संयोजक तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिँदै शिविर सफलतापूर्वक सम्पन्न भएको र दुर्गम क्षेत्रका नागरिकहरूलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयाे ।

शिविर समापन कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नुभयाे ।

स्वास्थ्य संयोजक प्रा. डा. गोपी अर्यालले दुर्गम क्षेत्रका नागरिकहरूका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर अत्यन्त उपयोगी हुने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

शिविर सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज अमेरिका अध्यक्ष टकबहादुर रुवाली, धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको विशेष सहयोग थियो।

शिविरमा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, वडा अध्यक्ष लिलामान तामाङ, स्वास्थ्य प्रमुख आइतराम तामाङ, खनियाबास ग्रामीण अस्पतालका इन्चार्ज डा. शंकर पटेल लगायतको सहभागिता थियो।

खनियाबास गाउँपालिका र डिपिन धादिङकाे संयाेजनमा शुक्रबार र शनिबार निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar