काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिनुभएको छ । एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताउनुभयो । नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताउनुभयो । ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उहाँले भन्नुभयो ।
एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनु पर्ने ओलीले बताउनुभयो । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्य तर्फ नेकपा एमाले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेको सङ्कल्प कुनै राजनीतिक स्टनबाट नभएर साकार पार्न गरिएको प्रतिबद्धता भएको बताउनुभयो । देशमा सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएका र दिने उहाँले दाबी गर्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टी जति बलियो भयो त्यति नै राष्ट्रियता बलियो हुने बताउनुभयो । आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको बताउनुभयो ।
नेकपा एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुवाती अभियन्ता भएको उहाँले बताउनुभयो । एमालेको कारण नागरिकहरूले जीवनको आधार भएको ओलीले दाबी गर्नुभयो ।
एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको उहाँले बताउनुभयो । नेकपा एमाले नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता भएको ओलीले स्पष्ट पार्नुभयो । एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठुला विकास योजनाको अभियन्ता समेत भएको ओलीले बताउनुभयो । नेकपा एमाले स्वप्नद्रष्टा पार्टी समेत भएको उहाँले दाबी गर्नुभयो ।
नेकपा (एमाले)ले देशका प्रमुख राष्ट्रिय धरोहरहरू– सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने कठोर उद्घोष गरेको छ।
पार्टीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो।
एमाले प्रस्तुत गरेकाे भिडियो सन्देशमा एमालेले जलेको संसद् भवन, खरानी बनाइएको सिंहदरबार र न्यायको मन्दिर जलाइएको घटनालाई पार्टीले कहिल्यै नभुल्ने दृढता व्यक्त गरेको हो।भिडियोमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भनिएको छ, सम्झनुहोस्, जलेको हाम्रो न्यायको मन्दिर। सम्झनुहोस्, बलेको हाम्रो संसद् भवन। सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार। जलाइएको सिंहदरबार बिर्सेका छैनौं, बिर्सने छैनौं।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गर्नुभएको छ ।
पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गर्नुभएको हो ।
महाधिवेशनको बन्दसत्र भोली र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।