– नानु कार्की /धादिङबेसी
एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराईले
देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभएकाे छ ।
संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको माग गर्दै नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा गरेकाे जनप्रदर्शनकाे अबसरमा आयाेजित सभालाई सम्बाेधन गर्दै भट्टराईले असंवैधानिक तरिकाबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने र याे सरकारले चुनाव गराउने वातावरण नै नबनाएकाे बताउनुभयाे ।
विघटित प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म एमालेले आन्दोलन गरिरहने बताउदै एमाले पाेलिटव्यूराे सदस्य भट्टराईले नेपाली जनताले बनाएको संविधानबारे निर्णय गर्ने अधिकार कुनै एक व्यक्ति वा अहिलेको सरकारलाई नभई जनतालाई मात्र रहेकाे बताउनुभयाे ।
भदाै २३ र २४ काे हिंसात्मक भएकाे उल्लेख गर्दै भट्टराईले जेन्जीकाे नाममा देशमा अशान्ति मच्चाई लोकतन्त्र कमजोर पार्ने प्रयास भएकाे उल्लेख गर्नुभयाे ।
जेन्जीकाे नामबेाट लुटिएका हतियार फिर्ता नभएसम्म र जेलबाट भागेका र फरार भएका अपराधी जेलमा नआएसम्म निर्वाचनको वातावरणनै नबन्ने बताउँदै एमाले नेता भट्टराईले हुँदै नहुने चुनावमा सहभागी हुन्छाैँ भनेर एमाले दिगभ्रमित नहुने स्पष्ट पार्नुभयाे ।
सिंहदरबार र अदालतमा आगजनी गर्ने समूहबाट सुशासन वा न्यायिक सुधारको अपेक्षा गर्नु निरर्थक भएको टिप्पणी गर्दै भट्टराईले न्यायालय जलाउने प्रवृत्तिबाट न्यायको रक्षा सम्भव नहुने दावी गर्नुभयाे ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले संविधानको रक्षाको लागि एमाले जतिबेला पनि तयार रहेको बताउनुभयो ।
‘टापटिपे आवाराहरुले देश चलाइरहेको छ । यो खराव अवस्थालाई परिवर्तन गरेर जनताको शासन व्यवस्थालाई अगाडि ल्याउन एमाले विद्रोहमा निस्किरहेको छ’, लाेहनीले भन्नुभयो ।
जसभालाई सम्बोधन गर्नुहुँदै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकोले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनस्थापना गरेर चुनावको मिति तोक्नुपर्ने दावी गर्नुभयो ।
जेलबाट भागेका अपराधिहरुको हातमा प्रहरीसँग लुटिएको गोलीगठ्ठाहरु फिर्ता गराएर अपराधिहरुलाई कारबाही गरी दलका नेता कार्यकर्ता जनता र मतदाता माझ जानसक्ने वातावरण सिर्जना गर्नुपर्ने एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले बताउनुभयो । यो सरकारले आतंकलाई प्रसय दिएर दलहरुलाई वेवास्था गरिरहेको उहाँले जिकिर गर्नुभयो ।
एमालेले गरेका काम र विकास सहन नसकेकाहरुले विदेशी षडयन्त्रकाे सिकार भएपछि एमालेलाई हटाउन मात्र याे अवस्था सिर्जना गरिएकाे एमाले जिल्ला सचिव राधिका सापकाेटाले बताउँदै सबै किसिमका षड्यन्त्र चिरेर छाड्ने बताउनुभयाे ।
एमालेले देशभर नै आयाेजना गरेकाे विराेध प्रदर्शन र सभाकाे क्रममा धाादिङबेसीमा र्यालीसहित व्यापक जनप्रदर्शन गरेको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित पुछारबजारबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै एमाले चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।