✍️ विष्णुप्रसाद आचार्य
प्रिय धादिङ्ग, सधै सम्झिरहनेछु:
धादिङ्गमा डिभिजनल वन अधिकृतको रुपमा २ वर्ष १ महिनाको अवधी (२०८० आसोज २२ देखि २०८२ कार्तिक २० गते सम्म कार्यरत) मेरा लागि पूर्णत: खुल्ला विश्व बिधालयको रुपमा रह्यो जहाँ म कार्यरत रहे भन्नु भन्दा पनि एउटा उत्सुक बिधार्थीको रुपमा रहे, यहाँ मैले जीवनको महत्वपूर्ण पहलु सिक्ने सौभाग्य प्राप्त गरे, हाम्रा अनुभवलाई यहाँ तिखार्ने मौका पाए l गणेश हिमालको शुन्दर काख हार्चिपास, कालोदह, सेतो दह, बुकी फुल्ने, चौरी डुल्ने पाटन देखि चमेरो बाच्ने, चिउरी पाक्ने र पारिजात फूल्ने जंगल मेरा आँगन भए l बुढी गण्डकीको फाटमा रहेको नृसिंह धामको पबित्र देब भुमि देखि पशुपतिनाथको सीमा मेरा कुद्ने मैदान भए l
रुख भनेका केवल पैसा र अक्सिजन उत्पादन गर्ने अनि कार्बन संचित गर्ने कोरा कारखाना मात्र होइनन, यी त प्रकृति र संस्कृतिका अमुल्य संगम हुन्, हाम्रा सभ्यता, इतिहाँसका धरोहर र मुहान हुन भन्दै धार्मिक वनहरुमा गीत गाउने मौका पाए, देब बाटिकामा (नक्षत्र बाटिका, ग्रह बाटिका, राशि बाटिका) रमण गर्ने मौका पाए l मैले यहाका वर, पीपल, समी, पलांशको फेदमा बसेर सुस्ताउने मौका पाए, सेवामा सधै समर्पित यिनका हाँगामा उन्माद खेल्ने मौका पाए, उद्धार, पुनर्स्थापना भन्दै यिनका सुखदुखमा साथ दिने र जिन्दगीमा साना भनिएका कामहरु गरिरहनु पर्छ भन्ने शिक्षा र प्रेरणा पाए र त्यसलाई अपनाउने मौका पाए l
सालक मेरा प्रिय मित्र बने, यिनको सुस्त आवाज सुन्दै यिनलाई जोगाउने, अपनाउने, साथी बनाउने सौभाग्य प्राप्त गरे l इतिहाँस प्रति सम्बेदनहिन र आफ्नै आमाबुवा अनि पुराना पुस्ताप्रति समेत कठोर हुदै गएको दुनियालाई इतिहाँस प्रति झुकेर सम्मान गर्नुपर्छ भन्ने संदेश दिन “वन संरक्षण योद्धा” लाइ सम्मान गर्दै वहाहरुका अनवरत सुसेली सुन्नु पर्छ, सुनिरहनु पर्छ र सुनाइरहनु पर्छ अभियानको संयोजन गर्ने मौका पाए l
मैले मात्र सिकेर, मैले बोलेर मात्र हुँदैन हाम्रा छोराछोरी, नाति नातिनी पुस्तालाई पनि वातावरणका शिक्षा अनवरत दिनुपर्छ, बोल्ने र संरक्षणको काममा जोड्नु पर्छ भन्ने मन्त्रको संयोजन गर्दै वातावरण शिक्षाका माध्यमबाट यहाका बिधालयमा पुग्ने नानिबबुसंग अनुभव साट्ने मौका पाए, उनीहरुका भावनालाई आत्मासात गर्ने मौका पाए l
हामि जनताका मालिक होइनौ, सेवक हौ र सधै सेवक नै रहनु पर्छ भन्दै “पुटिंग द पिपल फस्ट” भन्ने मन्त्रलाई उजागर गर्दै सदैव भुइँ मान्छेका पक्षमा लाग्ने जनमुखी अभियान नै हामि राष्ट्र सेवकको पहिलो र अन्तिम गन्तब्य हुनुपर्छ भन्ने बिषयलाई साउतीको स्वरमा भएपनि सुनाउने मौका पाए l यो जनताप्रति कुनै दयाको भाव होइन यो हाम्रो जिवन पर्यन्त गरिनुपर्ने अनिवार्य कर्तब्य, दायित्व र अनुसासित बन्ने सीमा हो भन्ने बिषयलाई कठोरताका साथ् अपनाउने मौका पाए l
कर्मचारी मिलन केन्द्रका साथीहरुले जिल्ला आइनपुग्दै सम्मानका साथ् मिलन केन्द्रको संयोजन गर्ने विश्वास दिनुभयो त्यसलाई हामीले अनवरत बग्ने आँखु जस्तै उनका सुसेलीमा आफ्ना लोलिबोली मिलाउने मौका पाए l
साहित्य, कला, संस्कृति समाजका अभिन्न अंग हुन् भन्दै सिंगो वागमती साहित्य उत्सबको संयोजनमा सिंगो धादिङ्ग र धादिंगेले गर्नुभएको अतुलनीय विश्वासको ऋण यो जुनीमा म सायदै तिर्न सकुला l
स्थानीय जनता मेरा लागि मार्गदर्शक भए, राजनीतिक दलका नेता, कार्यकर्ता उत्प्रेरक भए, समन्वय समिति, पालिका र पदाधिकारीले सधै हाम्रा अभिभावकत्वको भूमिकामा रहनु भयो, वनका उपभोक्ता, ब्यवसायीहरु सुखदुखमा लोली मिलाउने साथि भए l
यहाका संचारकर्मी मेरा लागि सदैव एकाघरका सदस्य भए, हाम्रा कमजोरीलाई सुधार्दै कसरि जनता समक्ष सहि र सकरात्मक संदेश पुर्याउन सकिन्छ भन्ने अभियानमा अभियन्ता भए l यसको ऋण मैले कैले तिरेर सक्छु होला ?
हाम्रो कार्यालयको कर्मचारीका लागि न म कहिले हाकिम रहे, न यी मेरा स्टाफ र फगत कारिन्दा रहे, यी मेरा चल्ने, कुद्ने हात खुट्टाका रुपमा रहे, सोच्ने दिमागका रुपमा रहे, ठुलो यात्राका सहयात्री र सारथि रहे, सधै मेरा रक्षा कवच रहे l जिल्लाको समग्र कर्मचारी क्षेत्र, बुद्धिजीवी सर्कलको सधै अमुल्य साथ् सहयोग पाउने म एकमात्र भाग्यमानी व्यक्ति हुन् पुगे l
यस्तो सौभाग्य सारै कम व्यक्तिले मात्र पाउछन यो अवसर मलाइ धादिङ्गले दियो l म धादिङ्गप्रति आजीवन कृतज्ञ रहनेछु l धादिङ्ग सधै मेरो मानसपटलमा रहनेछ, रक्त कोषिकामा बहनेछ l
धेरै काम बाकि रहेका छन्, यी काम म देशको जुन कुनामा भएपनि गरिरहनेछु l म यहाका सम्पूर्ण आमाबुवा, साथीभाईको प्रेम, सम्मान, सद्भाव लिएर लिएर मेरो अर्को कार्यक्षेत्र चितवन जादैछु l
रहंदा बस्दा यहाहरु प्रति जानी नजानी भएका भएका गल्ति, कमजोरी प्रति क्षमा माग्दछु l यहाको बसाइ स्वास्थ्यकर र उन्नत रहोस l धर्ती माताले हामीलाई सुरुक्षा गर्नुहुने छ l
जय प्रकृति, जय संस्कृति, जय वसुन्धरा l