मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पतालमा

मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पतालमा

  • Kandara Samachar

  • सोमवार, असार ११, २०८१

  • 107
    SHARES
मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पतालमा

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ। स्थानीय बल बहादुर प्रजा (५५) ले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।

मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो। तर, भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६:३५ बजे उनको मृत्यु भएको डाक्टरले घोषणा गरे।

अन्य बिरामीहरूमा प्रजाकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु प्रजा, ८ वर्षीया छोरी सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा रहेका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको र चितवनमा उपचार भइरहेको बताइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बृज किशोर साह गोढको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ७ घण्टा पैदल दूरीमा रहेको छ।

यस घटनाले जङ्गली च्याउ खानुको जोखिमबारे सचेत गराएको छ। स्थानीय अधिकारीहरूले जनतालाई अपरिचित जङ्गली च्याउहरू नखान सावधान गराएका छन्। प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar