अहिलेलाई यस्तै भयो…

अहिलेलाई यस्तै भयो…

  • Kandara Samachar

  • बिहिबार, चैत्र ८, २०८०

  • 186
    SHARES
अहिलेलाई यस्तै भयो…


✍️ सृजना अर्याल
कविता कविताजस्तै देख्न पाए हुने थियो
काव्यमै जनका बोली लेख्न पाए हुने थयो।

भावको रङ्ग पोतेर भाषाको क्यानभासमा
मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा।

कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा
कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा।

कर्णालीसरि बग्दैनन् भावनाका नदीहरू
कविता सिर्जनादेखि भाग्छे सधैँ म के गरूँ?

छोराछोरी गए टाढा भनूँ फर्क म के गरी ?
छाती च्याप्प समाएर मूर्च्छा पर्छु घरीघरी।

पुराना भैसके सारा वीरताका कथाहरू
इतिहास पढे लाजै लाज मान्छ कसो गरूँ?

अवस्था कि व्यवस्था के लेखूँ यो परिवेशको?
‘भत्केको घरको चाला बिग्रिँदो’ लाग्छ देशको।

अर्थतन्त्र छ बिग्रेको बिग्रेकै छ मनस्थिति
हो भ्रष्टाचार सप्रेको यस्तै नै छ परिस्थिति।

दु:खीको दु:ख उस्तै छन् फेरिए पनि शासक
कलाकार नयाँ फेरी एउटै चल्छ नाटक।

सुखका कविता लेख्ने आएमा दिन एउटा
काव्य नै फल्दथे होला पात-पात बुटा-बुटा।

सुनाउँला कहाँ लेखी दु:खका कविताहरू?
देशको कविता लेख्दा उदाङ्गो हुन्छ आबरु।

वासन्ती नै हराएमा कहाँ सौरभ पाउँला!
ऋतुराज फिरे फेरि कविता म सुनाउँला।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar