धादिङ ।
भोटेकोसी बाढीबाट प्रभावित गल्छी गाउँपालिका–६ का १४८ जनालाई अन्तर्राष्ट्रिय धादिङ समाजले राहत तथा सहयोग सामग्री वितरण गरेको छ।
बाढी प्रभावितका लागि फाइबर सिरक, झुल, म्याट्रेस, चप्पल, साबुन, सुत्केरी सामग्री, टी–सर्ट, ट्र्याकसुट, बालबालिकाका कपडालगायतका सामग्री वितरण गरिएको हो। राहत सामग्री गाउँपालिका र वडा कार्यालयको मागका आधारमा ल्याइएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ।
राहत वितरण कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइका जी तिवारी, वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की, वडा सदस्य भरत अधिकारीलगायतको उपस्थिति थियो।
भोटेकोसी बाढीले गल्छी गाउँपालिका–६ अन्तर्गत बैरेनी बजार र महेशदोभान बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण यस क्षेत्रमा ११४ घर पूर्णरूपमा नष्ट भएका छन्। बाढी पसेर घरभित्र ठूलो मात्रामा लेदो र गेग्रान जमेको छ।
स्थानीय कृष्ण काराखेतीका अनुसार बाढी अत्यन्तै तीव्र गतिमा आएकाले प्रभावितहरूले घरभित्र रहेका कपडा, धानचामल, महत्वपूर्ण कागजपत्र, सुनचाँदीका गहना, नगद तथा पशुचौपायासमेत निकाल्न पाएनन्। घर तथा सम्पत्तिसँगै दैनिक जीवनयापनका सामग्रीसमेत गुमेपछि स्थानीय गम्भीर समस्यामा परेका छन्।
विदेशमा रहेका धादिङवासीको सहयोगबाट राहत सामग्री जुटाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्न पाएकोमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले खुसी व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका धादिङ जन्मिएका नेपालीलाई मातृभूमिप्रति सहयोग र योगदान गर्ने अभियानमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बाढीपछि गाउँपालिका तथा वडा कार्यालयको मागका आधारमा सामग्री संकलन तथा व्यवस्थापन गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको र त्यसपछि एकद्वार प्रणालीमार्फत प्रभावितलाई राहत वितरण गरिएको जनाइएको छ।
भोटेकोसी बाढीले गल्छी गाउँपालिका–६ का बजार तथा बस्तीमा घर, भौतिक संरचना र व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुर्याएपछि स्थानीय अझै पुनर्स्थापना र दैनिक जीवन सहज बनाउने सहयोगको पर्खाइमा छन्।
गल्छी गाउँ पालिकामाएकद्वार प्रणाली अन्तरगत सहयाेगिहरुले राहत प्याकेज उपलब्ध गराउनेछन् भने पालिकाले प्रभावितलाई आवस्यकताकाे अआधारमा उपलब्ध गराउनेछ ।अन्तर्राष्ट्रिय धादिङ समाजले पालिकामा राहत प्याकेज उपलब्ध गराएकाे थियाे ।