टाइप-सी पोर्टमा सीमितता ल्याए आईफोन बिक्रीमा रोक लगाउने युरोपेली संघको चेतावनी

टाइप-सी पोर्टमा सीमितता ल्याए आईफोन बिक्रीमा रोक लगाउने युरोपेली संघको चेतावनी

  • Kandara Samachar

  • शनिबार, बैशाख ३०, २०८०

  • 159
    SHARES
टाइप-सी पोर्टमा सीमितता ल्याए आईफोन बिक्रीमा रोक लगाउने युरोपेली संघको चेतावनी

     यूएसबी-सी पोर्टका सन्दर्भमा एप्पलले केही सीमितता ल्याउने समाचार बाहिरिएपछि युरोपेली संघ (ईयू)ले बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ईयूका एक आयुक्त थियरी ब्रेटनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यसो गरेमा आईफोन बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा ब्रेटनले आईफोनमा यूएसबी-सी उपलब्ध गराउने हो भने त्यसमा कुनै सीमितता हुन नहुने उल्लेख गरेका छन् । एप्पलले आईफोन १५ मा यूएसबी-सी प्रणाली सुरु गर्ने खबर बाहिरिएको छ । तर बाहिरिएका केही सूचना अनुसार कम्पनीले यूएसबी-सी प्रणालीलाई लिएर आम्दानीको अवसर खोजिरहेको छ ।

विशेषगरी यूएसबी-सी भएको आईफोन डिभाइस चार्ज गर्न वा डेटा ट्रान्सफरका लागि प्रयोग गर्न एप्पलकै केबल वा कम्पनीले प्रमाणित गरेको केबल प्रयोग गर्नुपर्ने समाचार बाहिरिएको छ । अन्यथा चार्जरको स्पिड वा डेटा ट्रान्सफरको स्पिडमा सीमितता लाग्ने बताइएको छ ।

गत मार्चमा एप्पल विश्लेषक मिङ चि कुओले एप्पलले आईफोन १५ का लागि फास्ट चार्जिङ स्पिडसहितको यूएसबी-सी सार्वजनिक गर्न लागेको सूचना बाहिर ल्याएका थिए । तर, एप्पलले उत्पादन गरेका वा प्रमाणित नगरेका केबल प्रयोग गर्दा चार्जिङ स्पिड कम हुने उल्लेख गरेका थिए ।

बाहिरिएका विभिन्न समाचारलाई आधार मानेर ईयूले यूएसबी-सीमा कुनै पनि किसिमको सीमितता लगाउन नपाउने भन्दै विज्ञप्ति निकालेको हाे । सिङ्गल चार्जरका लागि ईयूका मापदण्ड पूरा नगरेको अवस्थामा युरोपेली बजारमा आईफोन बिक्री गर्न नपाउने ब्रेटनले उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar