दशैंमा दशा बुढीगण्डकीको बाढी, विस्थापितलाई खाना र नानाकाे चिन्ता

दशैंमा दशा बुढीगण्डकीको बाढी, विस्थापितलाई खाना र नानाकाे चिन्ता

  • Kandara Samachar

  • बुधबार, अशोज २८, २०८३

  • 30
    SHARES
दशैंमा दशा बुढीगण्डकीको बाढी, विस्थापितलाई खाना र नानाकाे चिन्ता

धाादिङ

धादिङ र गोरखा जोड्ने बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले सेउलीबजारका ७० परिवारलाई विस्थापित बनाएको छ। ५८ परिवार चुलिदेबी माविकाे हाेल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन् ।

बाढीले घर, अन्नपात, लत्ताकपडा र वर्षौंको कमाइ बगाएपछि विस्थापित परिवारलाई अहिले दशैंको खुसीभन्दा पनि खाना, नाना र भविष्यको चिन्ताले सताएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाट विशालनगर सेउलीबजारस्थित सुकुम्बासी बस्तीका पूर्णमायाँ गुरुङले बाढीबाट भागेर ज्यान त बचाइन्, तर घरसहित जीवनभरको कमाइ गुमाइन्। २५ वर्षअघि श्रीमान् गुमाएकी उनले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएकी थिइन्। दुःख गरेर बनाएको घर बाढीले बगाएपछि उनी फेरि सहाराविहीन बनेकी छन्।

‘भागेर ज्यान बचाएँ, तर बाँकी केही रहेन। अब कहाँ जाउँ ?’ उनले भावुक हुँदै भनिन्।

नारायणबहादुर नगरकोटी शारीरिक अशक्तताका कारण काम गर्न सक्दैनन्। उनकी श्रीमती पनि कान नसुन्ने समस्याबाट पीडित छिन्। बाढीले घर र घरभित्रका सबै सामान बगाएपछि उनीहरूलाई अब कसरी जीवन चलाउने भन्ने चिन्ता छ। गर्भवती १७ वर्षीया मनमायाँ गुरुङको पीडा पनि उस्तै छ। कात्तिक १ गते सुत्केरी हुने समय तोकिएकी उनले सुत्केरी खर्चका लागि जम्मा गरेको रकमसमेत बाढीमा गुमाएकी छन्।

बाढीबाट विस्थापित परिवारलाई त्रिपुरासुन्दरी गाउँपालिकाले चुलीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरेको अस्थायी होल्डिङ सेन्टरमा राखिएको छ। विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न, कम्बल, त्रिपाल, म्याट र झुल उपलब्ध गराइए पनि उनीहरूको दीर्घकालीन बसोबासको समस्या समाधान भएको छैन।

दशैंको खुसी बगायो बाढीले

दशैंमा आफन्तसँग भेटघाट गर्ने, टीकाटाला लगाउने र रमाइलो गर्ने सपना बोकेका सेउलीबजारका बासिन्दाका लागि यसपालिको दशैं पीडादायी बनेको छ। वर्षभरि दुःख गरेर चाडपर्वका लागि जुटाएका सामग्रीसमेत बाढीले बगाएपछि उनीहरूलाई सुरक्षित बास र एक छाक खानाको चिन्ता छ।

‘पहिले दशैंमा आफन्त भेला हुन्थे, रमाइलो गरिन्थ्यो। यसपालि न घर छ, न दशैंको रौनक,’ धनमायाँ घलेले भनिन्, ‘एक पेट खान र टाउको लुकाउने ठाउँ पाए त्यही नै दशैंभन्दा ठूलो कुरा हुन्थ्यो।’

घर भाडामा लिएर गुजारा चलाउँदै आएकी सारुमायाँ गुरुङले पनि शरीरमा लगाएको कपडाबाहेक सबै गुमाएकी छन्। विस्थापित परिवारले सुरक्षित ठाउँमा पुनःस्थापना गरिदिन सरकारसँग आग्रह गरेका छन्।

दशैंपछि दीर्घकालीन व्यवस्थापन गरिने

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीबाट विस्थापित ५८ परिवारमध्ये सात परिवार धादिङका र ५१ परिवार गोरखाको मान्खुका हुन्। तत्कालका लागि सबै परिवारलाई होल्डिङ सेन्टरमा खान र बस्न व्यवस्था गरिएको उनले बताए।

‘विभिन्न संघसंस्थाले घर बनाइदिन सहयोग गर्ने बताएका छन्। दशैंलगत्तै काम सुरु गरेर सकभर चाँडै सुरक्षित ठाउँमा पुनःस्थापना गर्नेछौं,’ अध्यक्ष उप्रेतीले भने।

बाढीले घरबारविहीन बनाएका परिवारका लागि तत्कालीन राहतसँगै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ। उनीहरूका लागि यसपालिको दशैं टीका र उत्सवभन्दा पनि ज्यान जोगिएपछिको जीवन कसरी अघि बढाउने भन्ने चिन्तामा बितिरहेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar