धादिङ ।
भोटेकोशी–त्रिशूली बाढीबाट बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ७ चराैँदी स्थित बुद्धिविकास आधारभुत विद्यालयमा मंगलबार सहयात्री समाज नेपालले न्यानाे कपडा, जुत्ता र स्टेसनरी वितरण गरेकाे छ । कक्षा ८ सम्म पढाइ हुने साे विद्यालयमा अधिकास चेपाङ बालबालिका सहित ११५ जना अध्यायन गर्ने गरेका थिए ।
विद्यालयमा अध्ययनरत ११५ विद्यार्थीमध्ये ८२ जना जनजाति, २० जना दलित र १३ जना ब्राह्मण, क्षेत्री तथा अन्य समुदायका छन्।
बाढीले विद्यालय भवन भत्काएपछि विशालटारमा रहेकाे क्याम्पस भवन र अस्थायी टेन्टमा बसेर पढ्न बाध्य बालबालिकाको मुहारमा दसैँको मुखमा खुसी छाएको छ।
बाढीले विद्यालयसँगै उनीहरूको नियमित पठनपाठन प्रभावित बनाएको बेला सहयोगी हातहरूले नयाँ लुगा, जुत्ता र शैक्षिक सामग्री उपलब्ध गराएपछि बालबालिका उत्साहित भएका हुन्।
गत भदौ १० र १४ गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त बुद्धि विकास आधारभूत विद्यालयमा स्याङ्जाका पर्यटन व्यवसायी तथा समाजसेवी धन अधिकारीकाे सहयाेगमा सहयात्री समाज नेपाल, धादिङसँगको सहकार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा बालबालिकालाई न्यानाे कपडा, जुत्ता, कापी कलम, खेलकुदका सामाग्री वितरण गरिएकाे सहयात्री समाज नेपालका गिता खनालले बताउनुभयाे ।
बाढी प्रभावित विद्यार्थीलाई सहयोग उपलब्ध गराएका हुन् आफ्नै विद्यालयको कक्षाकोठामा बसेर पढ्ने वातावरण गुमाएका उनीहरूका लागि सहयोगले दसैँको खुसीसँगै पढाइलाई निरन्तरता दिने उत्साह थपेको छ।
आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालय नै बाढीले क्षतिग्रस्त बनाएपछि विद्यार्थीको पठनपाठनमा चुनौती थपिएको छ।
दसैँको पूर्वसन्ध्यामा नयाँ कपडा र जुत्ता पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गर्दै सहयोगीप्रति धन्यवाद ज्ञापन गरेका छन्। बाढीले विद्यालय भत्काए पनि आफूहरूको पढ्ने चाहना नभत्किएको सन्देश उनीहरूको उत्साहले दिएको छ।
सहयोगी धन अधिकारीले विपद्का कारण समस्यामा परेका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा उनीहरूलाई चाडपर्वको समयमा केही भए पनि राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयाे ।
न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष कुमार बस्नेत, सहयोगी धन अधिकारी, सहयात्री समाज नेपालकी गीता खनाल र इन्सेक प्रतिनिधि सीताराम अधिकारीको सहभागिता थियो।
बाढीले भौतिक संरचना मात्र नभई बालबालिकाको सुरक्षित वातावरणमा अध्ययन गर्ने अधिकारसमेत प्रभावित बनाएको छ। यस्तो अवस्थामा तत्कालीन राहतसँगै विद्यालयको पुनर्निर्माण, सुरक्षित कक्षाकोठाको व्यवस्था र नियमित पठनपाठनको सुनिश्चितता आवश्यक देखिएको छ।
बाढीले विद्यालय भवन बगाए पनि बालबालिकाको भविष्यप्रतिको आशा बगाउन सकेको छैन। नयाँ कपडा, जुत्ता र कापी–कलम बोकेर खुसी भएका विद्यार्थीका लागि अब सबैभन्दा ठूलो आवश्यकता भनेको आफ्नै सुरक्षित विद्यालयमा फर्किएर पढ्न पाउने वातावरण हो।