धादिङ ।
भोटेकोशी बाढीमा बससहित बेपत्ता भएका २६ जनाको परिवारलाई नेकपा एमाले धादिङले भेटेर समवेदना व्यक्त गर्दै सहयोग गरेको छ।
भदौ १० गते धादिङबाट रसुवाको गोसाइँकुण्ड जाने क्रममा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १२ जोडी दम्पतीसहित २६ जना भोटेकोशी बाढीमा बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्थाबारे यकिन हुन नसकेपछि परिवारजनले फर्किने आशा त्याग्दै कुशको शव बनाएर दाहसंस्कार गरी काजक्रिया सुरु गरेका छन्।

हराएकाे दिनपछि ९ जनाकाे शब फेला परेकाे थियाे । शव पहिचानपछि अन्त्यस्ठी गरि साङ्काे र सिद्धलेकमा घरघरमा काजकिरियामा बसेका परिवारलाई नेकपा एमाले धादिङले घरघर पुगेर भेट गरेकाे थियाे ।
यही अवस्थाबीच नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, केन्द्र सदस्य भूमि त्रिपाठी, खेम लाेहनी सहित जिल्लाका पदाधिकारी, सांसद तथा जिल्ला सदस्यसहितका नेताहरू पीडित परिवारको घरमै पुगेका हुन्। उनीहरूले परिवारजनसँग भेट गरी दुःखमा साथ रहेको बताएका छन्।
बाढीमा परी बेपत्ता भएकामध्ये दयाराम लम्साल र छविलाल श्रेष्ठ नेकपा एमाले धादिङ जिल्ला कमिटीका सदस्य हुन्। नारायण लम्साल जिल्ला कमिटीका सल्लाहकार तथा रामचन्द्र खनाल नीलकण्ठ नगर कमिटीका सदस्य हुन्। घटनामा परेका अधिकांश एमालेका पार्टी सदस्य रहेको एमाले धादिङले जनाएको छ। घरघरमा पुगेर समवेदना व्यक्त गर्दै एमाले पार्टी सदस्य परिवारलाई १०/१० हजारका दरले सहयाेग गरेकाे छ ।

बाढीपछि शव फेला परेका तथा बेपत्ता रहेका व्यक्तिका परिवार अहिले शोकमा छन्। घरमा आफन्तको भीड छ। तर, खोजी गर्दागर्दै पनि आफ्ना मान्छे नफर्किएपछि परिवारजनले पीडादायी रूपमा काजक्रिया अघि बढाइरहेका छन्।
एमाले नेताहरूले शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै मृतकप्रति श्रद्धाञ्जली र दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। विपद्को यस कठिन घडीमा पार्टी पीडित परिवारको साथमा रहेको उनीहरूले बताएका छन्।
एमाले धादिङले बेपत्ता तथा मृतकका परिवारलाई समवेदना दिनुका साथै आवश्यक सहयोगसमेत गरेको जनाएको छ। बाढीका कारण आफन्त गुमाएका परिवारको दुःखमा साथ दिनु सामाजिक र मानवीय दायित्व भएको नेताहरूले बताएका छन्।
भोटेकोशी बाढीले धादिङका विभिन्न गाउँमा ठूलो मानवीय क्षति पुर्याएपछि अहिले पनि धेरै परिवार शोकमा छन्। बेपत्ताको खोजी, शव पहिचान र परिवारको व्यवस्थापनको पीडा अझै सकिएको छैन।