कृष्णभीरमा सडक ठप्प भएपछि काठमाडौं जाने वैकल्पिक मार्गकाे खाेजी 

कृष्णभीरमा सडक ठप्प भएपछि काठमाडौं जाने वैकल्पिक मार्गकाे खाेजी 

  • Kandara Samachar

  • मङ्लबार, भदौ १६, २०८३

  • 51
    SHARES
कृष्णभीरमा सडक ठप्प भएपछि काठमाडौं जाने वैकल्पिक मार्गकाे खाेजी 
oplus_8388610

✍️ सीताराम अधिकारी /धादिङ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो खसेर सडक नै बगाएपछि काठमाडौं–मुग्लिन सडकमार्ग पूर्णरूपमा प्रभावित भएको छ। पहिरोका कारण कृष्णभीर क्षेत्रमा मानिस हिँड्नसमेत कठिन अवस्था बनेपछि धादिङबेसीबाट काठमाडौं जाने यात्रुका लागि वैकल्पिक सडकको आवश्यकता झन् बढेको छ।

मुग्लिनतर्फबाट काठमाडौं जाने मुख्य सडक नै जोखिममा परेका बेला मुग्लिन–गोरखा बजार–आरुघाट–धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी हुँदै काठमाडौं पुग्ने मार्ग महत्वपूर्ण वैकल्पिक सडक बन्न सक्छ। यो मार्गले मुग्लिन, गोरखा र आरुघाट हुँदै धादिङबेसीलाई काठमाडौंसँग जोड्छ। अहिलेको अवस्थामा मुख्य राजमार्गको विकल्पका रूपमा यो सडकलाई व्यवस्थित गर्न सके यात्रु तथा अत्यावश्यक सामग्रीको आवागमन सहज बनाउन सकिने देखिन्छ

त्यस्तै धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार–गल्छी हुँदै काठमाडौं जाने सडक पनि सदरमुकामबाट राजधानी पुग्ने महत्वपूर्ण वैकल्पिक मार्ग हो। यसअघि नै यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ। सडक सफा तथा आवश्यक मर्मत गर्न सके साना तथा मझौला सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको बताइएको छ।

तर वैकल्पिक मार्ग पनि सहज छैन। शीतलबजार र परेवाभीर क्षेत्रमा पहिरो खसेर सडक प्रभावित भएको छ भने कृष्णभीरमा पहिरोले सडक नै बगाएको छ। लगातारको वर्षा र पहिरोका कारण सडकको अवस्था कमजोर बन्दै गएकाले यात्रुहरू जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ।

यसबीच मालवाहक सवारीका लागि कान्ति लोकपथ, १४ सिटभन्दा माथिका यात्रुवाहक सवारीका लागि त्रिभुवन राजपथ र १४ सिटभन्दा कमका यात्रुवाहक सवारीका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जोडिने मार्गसमेत वैकल्पिक सडकका रूपमा देखाइएको छ।

यस्तो अवस्थामा धादिङबेसीलाई काठमाडौंसँग जोड्ने वैकल्पिक सडकको तत्काल मर्मत, पहिरो पन्छाउने तथा जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षाका उपाय अपनाउनुपर्ने देखिन्छ। विशेषगरी एम्बुलेन्स, खाद्यान्न, औषधि, इन्धन तथा अत्यावश्यक सेवाका सवारीलाई प्राथमिकता दिई वैकल्पिक मार्ग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ।

मुख्य राजमार्ग कहिले खुल्छ भन्ने निश्चित नभएको अवस्थामा धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी र मुग्लिन–गोरखा–आरुघाट–धादिङबेसी जोड्ने सडकलाई भरपर्दो वैकल्पिक मार्गका रूपमा विकास गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar