नानू कार्की/ धादिङ
गत भाद्र १० गते त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित बनेका क्षेत्रहरूमा जिल्ला प्रशासन कार्यालय धादिङले उद्धार, सडक मर्मत तथा राहत व्यवस्थापनका कार्यहरूलाई तीव्रता दिएको छ।
चीनको तिब्बतबाट नेपाल छिर्ने भोटेकोसी नदीमा आकस्मिक बाढी आएको प्राप्त सूचनाका आधारमा त्रिशुली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सुरक्षा निकाय, स्थानीय तह तथा सञ्चार माध्यमहरूमार्फत अनुरोध गरिएको भए पनि त्रिशुली नदीमा उल्लेख्य मात्रामा बाढीको बहाव भने देखिएको छैन। बाढीका कारण सडकमा जम्मा भएको लेदोसहितको अवरोध हटाउने कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय तहको समन्वयमा परेवाटार–मास्टार पुग्ने सडक मर्मत गरिएको र भोलिसम्म थप मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइने भएको छ।
त्यस्तै, धादिङवेशी–आरुघाट सडक खण्ड मर्मत गरी साना तथा मध्यम सवारी साधन सञ्चालन गर्न सकिने बनाइएको छ भने धादिङवेशीबाट ज्वालामुखी गाउँपालिका साँधभञ्ज्याङ–बुझोटघाट हुँदै बेनिघाट जाने सडक सञ्चालनका लागि ज्वालामुखी गाउँपालिका र गोर्खा जिल्लासँग समन्वय गरी साना तथा मझौला गाडी चल्न सक्ने बनाइएको छ। अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा १५० घरपरिवारका लागि आवश्यक पर्ने तत्काल राहत सामग्री वैरेनी प्रहरी चौकीमा आइपुगेको प्रशासनले जनाएको छ।
यसैबिच, त्रिशुली नदी आसपासका क्षेत्रमा हालसम्म २५ जनाको शव र १५ वटा शरीरका अङ्गहरू फेला परेका छन्। फेला परेका शवहरूमा ९ जना महिला, १२ जना पुरुष, १ जना बच्चा र लिङ्ग पहिचान हुन नसकेका ३ जना रहेका छन्। फेला परेका शवहरू मध्ये ६ वटा त्रिभुवन शिक्षण अस्पताल काठमाडौँ र १८ वटा शव तथा १३ वटा अङ्ग पोखरा पठाइएको छ भने बाँकी शव र अङ्गहरू गजुरीमा राखी व्यवस्थापन भइरहेको छ।
सम्बन्धित समाचार