धादिङमा पाँच पक्की र ११ झोलुङ्गे पुल बगे, ३ विद्यालय, एक अस्पताल र १५० घरमा क्षति

धादिङमा पाँच पक्की र ११ झोलुङ्गे पुल बगे, ३ विद्यालय, एक अस्पताल र १५० घरमा क्षति

  • Kandara Samachar

  • बुधबार, भदौ १०, २०८३

  • 30
    SHARES
धादिङमा पाँच पक्की र ११ झोलुङ्गे पुल बगे, ३ विद्यालय, एक अस्पताल र १५० घरमा क्षति
oplus_2

धादिङ, 

चीनतर्फको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल, विद्यालय, होटल तथा अन्य संरचनामा क्षति पुर्‍याउँदा जिल्लाको जनजीवन प्रभावित भएको छ।

प्रारम्भिक विवरणअनुसार जिल्लामा पाँचवटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगेका छन् भने करिब १५० घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। बाढीले धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोला पुलसमेत बगाएपछि सदरमुकामको मुख्य यातायात सम्पर्क विच्छेद भएको छ।

२०५६ सालमा निर्माण भएको फुर्केखोला पुल त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको हो। केउरेनी–गल्छी–१, जिन्टेटार–स्यालटार, जहरे–सिद्धलेक–७ तथा घाटबेसी–पिपलटार जोड्ने पक्की पुलमा समेत क्षति पुगेको छ।

त्यस्तै घाटबेसी, मालिङ्गा, गजुरी कालिका मन्दिर, बागेश्वरी मन्दिर, केउरेनी, बैरनी, गहते, कल्लेरीघाट, मासटार, चिरौदी र पानसयटारका झोलुङ्गे पुल बाढीले बगाएको प्रारम्भिक विवरण छ।

बस्तीमा पस्दा घरदेखि बजारसम्म क्षति

गल्छी गाउँपालिकामा मात्रै २५ घर पूर्ण र ४५ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बैरनीस्थित पेट्रोल पम्प, बैरनी अस्पताल, बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी तथा दुई वित्तीय संस्थाका कार्यालयमा पनि बाढीले क्षति पुर्‍याएको छ। २० भन्दा बढी सवारीसाधनमा समेत आंशिक क्षति पुगेको बताइएको छ।

गजुरी गाउँपालिकामा खेलकुद कभर्डहल पूर्णरूपमा बाढीमा बगेको छ। गलौदी बजारका १७, पोखरेखोलाका तीन, जहरेका सात, बेल्खु बजारका १५ तथा मलेखु–फुर्केखोला क्षेत्रमा ३० घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण छ। एक पेट्रोल पम्पमा पनि क्षति पुगेको छ।

बेनिघाट रोराङ गाउँपालिकामा ब्लुहेभन होटल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। आसपासका पाँच घर र त्रिशूली रिभरसाइड क्षेत्रमा पनि क्षति पुगेको छ। त्यहाँ सञ्चालित जिपलाइनसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

सिद्धलेक क्षेत्रमा एउटा होटल तथा करिब २० वटा मरणघाटमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

विद्युत् र सञ्चार सेवासमेत प्रभावित

जहरेखेतस्थित विद्युत् सबस्टेसनमा समेत बाढीले आंशिक क्षति पुर्‍याएको छ। सबस्टेसनमा क्षति पुगेपछि राजमार्ग आसपासका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध भएको छ। विद्युत् सेवा बन्द हुँदा टेलिफोन तथा इन्टरनेट सेवासमेत प्रभावित भएका छन्।

बाढीले पुल र सडकमा क्षति पुर्‍याएपछि जिल्लाका विभिन्न स्थानबीचको आवागमनसमेत कठिन बनेको छ। प्रशासनले जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र तथा त्रिशूली नदीमाथिका पुलमा आवतजावत रोक लगाएको थियो।

 

सदरमुकाममा अत्यावश्यक वस्तुको अभावको जोखिम

यातायात सम्पर्क विच्छेद भएपछि धादिङबेसीमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा समस्या देखिन थालेको छ। केही पसलमा सामान सकिएको भन्दै बिक्री रोकिएको छ भने कतिपय व्यापारीले मूल्य बढाउन थालेको उपभोक्ताको गुनासो छ।

बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाले बजार अनुगमन थालेको छ। कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने नगर उपप्रमुख दीपक विश्वकर्माले बताउनुभएको छ।

उद्धार र पुनःस्थापनाको तयारी

बाढीपछि जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक योजना अघि बढाएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन संघ र प्रदेश सरकारसँग आवश्यक सहयोग माग्ने तयारी गरिएको छ।

समयमै जोखिमयुक्त क्षेत्रमा आवतजावत रोकिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रशासनको भनाइ छ। यद्यपि सम्पर्कविहीन यात्रुको अवस्था र बाढीबाट भएको वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar