भुलभुलेमा धाँजा फाटेर ४ घर चर्कीायाे, ३० घर जाेखिममा

भुलभुलेमा धाँजा फाटेर ४ घर चर्कीायाे, ३० घर जाेखिममा

  • Kandara Samachar

  • शनिबार, साउन २, २०८३

  • 41
    SHARES
भुलभुलेमा धाँजा फाटेर ४ घर चर्कीायाे, ३० घर जाेखिममा

 

✍️ सीताराम अधिकारी/धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुलेमा धाँजा फाटेपछि तल्लो भुलभुले र माथिल्लो भुलभुले गाउँ जोखिममा परेको छ ।
तिनदिनदेखिको वर्षा र सदरमुकाम धादिङबेसी लगिएको खानेपानी पाइप फुटेर पहिरो जाने र धाँजा फाटेर गाउँ जोखिममा परेको हो ।
धादिङबेसी खानेपानीको अव्यवस्थित पाइपका कारण पाइप फुटेर बगाएको र जमिन कमजोर भई बस्तीमुनिको भूभाग भासिन थालेको गाउँवासीको भनाइ छ । निरन्तरको वर्षासँगै पाइप फुटेर निस्किएको पानीका कारण जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढेपछि सो क्षेत्रका करिब ६५ सय घरपरिवार प्रभावित भएका छन् भने विशेष गरी भुलभुले क्षेत्रका ३० घरधुरीका नागरिक कुनै पनि बेला पहिरो जानसक्ने अवस्थामा रहेको नीलकण्ठ नगरपालिका विपद व्यवस्थापन शाखाका अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पहिरो नियन्त्रण तथा बाढीको जोखिम न्यूनीकरण गर्न बागमति प्रदेश सरकारको सहयोगमा नीलकण्ठ नगरपालिकाको सहकार्यमा करिब ६५ लाख रुपैयाँको लागतमा सो स्थानमा ग्याबिन वाल निर्माण गरिएको थियो । तर, खानेपानीको पाइपलाई वैज्ञानिक ढंगले व्यवस्थापन नगरिँदा र फुटेको पाइपबाट निरन्तर पानी बगिरहँदा सडकको कुनामा संरक्षणका लागि लगाइएको उक्त ६५ लाखको ग्याबिन जालीसमेत क्षतिग्रस्त भई भासिएको श्रेष्ठको भनाइ छ ।
खेतका गह्रा र बारीको पाटामा धाँजा फाटेका कारण गाउँ जोखिममा रहेकोले गाउँबासी जागै बसेका छन् भने लिबहादुर गुरुङ र भरत गुरुङ लगायतको ४ घरको घरनै चर्केकोले घर छाडेर छिमेकीको घरमा बस्ने बसेको गाउँबासीको भनाइ छ ।
हाल प्रयोग भइरहेको खानेपानीको मुख्य पाइप बस्तीभित्रबाटै लगिएकाले पटक–पटक फुट्ने र पानी जमिनभित्र पसेर माटो बगाउने समस्या देखिएकाले उक्त पाइप तत्काल हटाई व्यवस्थित रूपमा सडकको नालासँगै नयाँ लाइन विस्तार गर्न स्थानीयले माग गरेका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले भुलभुले क्षेत्रमा पहिरोको जोखिम बढेको जानकारी प्राप्त भएको पुष्टि गर्नुभयो । प्रजिअ गौतमले जोखिम न्यूनीकरणका लागि नीलकण्ठ नगरपालिका, डिभिजन खानेपानी कार्यालय र धादिङबेसी खानेपानी मूल उपभोक्ता समितिसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो । पानीका कारण थप क्षति हुन नदिनका लागि तत्कालै कदम चाल्न सम्बन्धित सबै सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराइसकेको उहाँले जानकारी दिनुभयो ।
स्थानीयले पाइप फुटेको कारण पहिरोको जोखिम बढेको जानकारी दिएकाले यस विषयमा प्राविधिक अध्ययन गर्न प्राविधिकसहितको टोलीलाई तुरुन्तै पठाएर खास कारण पहिल्याउन पहल गरिने समेत प्रजिअ गौतमले बताउनुभएको छ ।

भुलभुले क्षेत्रको धाँजा फाटेको क्षेत्रबाट पहिरो गएमा बस्ती खतरामा पर्छ भने पहिरोले अरुणखोला थुनिएमा धादिङबेसी बजार समेत जोखिममा पर्ने अवस्था छ । ठूलो क्षेत्रमा धाँजा फाटेका कारण प्लास्टिकले छोप्न समेत सम्भव नभएको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar