नीलकण्ठ १३ काे सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र विकास निर्माण सुधार गर्न माग

नीलकण्ठ १३ काे सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र विकास निर्माण सुधार गर्न माग

  • Kandara Samachar

  • शुक्रबार, साउन १, २०८३

  • 23
    SHARES
नीलकण्ठ १३ काे सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र विकास निर्माण सुधार गर्न माग
oplus_2

धादिङ,

नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम, बजेट, योजना तथा सेवा प्रवाहको समीक्षा गर्दै वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।

वडा कार्यालय र नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विविध समस्या र सुझाव प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले गाउँमा कृषि तथा भेटेनरी प्राविधिक नियमित रूपमा नपुगेको, वडा सचिवको अभाव रहेको, बजेट समानुपातिक रूपमा वितरण गर्नुपर्ने, कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने, विद्यार्थीले विद्यालय पुग्न सुरक्षित पैदल मार्ग नपाएको तथा योजना फर्छ्यौटमा ढिलाइ हुने गरेको गुनासो गरेका थिए।

त्यस्तै, विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने, विपद्बाट प्रभावित विद्यालयको मर्मतमा शीघ्र काम गर्नुपर्ने, माध्यमिक विद्यालयमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने, सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने, वडामा स्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना गर्नुपर्ने तथा चक्रपथ निर्माणका लागि विनियोजित बजेट वडा क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने माग पनि स्थानीयवासीले राखेका थिए।

यसैगरी, कृषि अनुदान वितरणलाई व्यवस्थित गर्नुपर्ने, गोरेटो बाटो निर्माण तथा स्तरोन्नति गर्नुपर्ने, धमिलो खानेपानीको समस्या समाधान गर्नुपर्ने, खुर्पेखोला क्षेत्रका विद्यार्थीलाई विद्यालय आवतजावत गर्न सहज हुने गरी पैदल मार्ग निर्माण गर्नुपर्ने, नगर क्षेत्रमा मदिरा व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा टोल–टोलमा व्यायामशाला स्थापना गर्नुपर्ने सुझावसमेत सार्वजनिक सुनुवाइमा उठाइएको थियो।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका कार्यवाहक नगर प्रमुख दीपक विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रिजाल, वडा नम्बर १३ का वडा अध्यक्ष सोमबहादुर गुरुङ तथा नीलकण्ठ खानेपानी बोर्डका अध्यक्ष शिव अधिकारीले नागरिकबाट उठाइएका प्रश्नको विषयगत रूपमा जवाफ दिँदै सेवा प्रवाह र विकास निर्माणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरपालिकाले सार्वजनिक सुनुवाइमार्फत नागरिकका गुनासा, सुझाव र अपेक्षालाई आगामी योजना तथा सेवा प्रवाहमा समेट्दै स्थानीय सरकारप्रतिको जवाफदेहिता र सुशासनलाई थप सुदृढ बनाउने उद्देश्य रहेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar