धादिङ ।
लगातार दुई दिनदेखिको वर्षापछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (तिमाङ खानी) क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ।
पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य प्रभावित बनेको छ। सडक अवरुद्ध भएपछि सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार डोजरमार्फत पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर माथिबाट लगातार ढुंगा झरिरहेकाले पहिरो हटाउने काम जोखिमपूर्ण र चुनौतीपूर्ण बनेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय धादिङले प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
प्रशासनले पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राख्दै पहिरो पूर्ण रूपमा हटेर सडक सुरक्षित भएको आधिकारिक सूचना नआएसम्म यात्रा नगर्न अनुरोध गरेको छ। अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा समेत सम्बन्धित निकायबाट सडक खुलेको पुष्टि भएपछि मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
सडक खुलाउने प्रयास जारी रहेकाले यात्रुहरूलाई धैर्य गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न प्रशासन र प्रहरीले अनुरोध गरेका छन्। साथै, आवश्यक सूचना तथा सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धादिङमा सम्पर्क गर्न सकिने जनाइएको छ।
——