✍️ सक्षम नेपाल/धादिङ
धादिङको गल्छी गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (AI–Xray) प्रविधिको प्रयोग गरी समुदायमा रहेका सक्रिय क्षयरोग (टीबी) बिरामीको खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
गल्छी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा दुई दिनमा कुल ५२० जनाको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको हो। कार्यक्रममार्फत समुदायमै पुगेर क्षयरोगको प्रारम्भिक पहिचान, शंकास्पद बिरामीको परीक्षण तथा समयमै उपचारमा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो।
असार २५ गते बैरेनी अस्पतालमा आयोजित कार्यक्रममा २४५ जनाको स्क्रिनिङ गरिएको थियो। स्क्रिनिङका क्रममा दुई जना नयाँ पल्मोनरी क्लिनिकल डायग्नोज्ड क्षयरोगी पहिचान भएका छन्। साथै २७ जना शंकास्पद व्यक्तिको खकार परीक्षण गरिएको थियो।
त्यसैगरी, असार २६ गते मासटार सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा २७५ जनाको स्क्रिनिङ गरिएको छ। सो क्रममा २० जना शंकास्पद व्यक्तिको खकार परीक्षणका लागि नमुना सङ्कलन गरिएको सम्बन्धित निकायले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार AI–Xray प्रविधिको प्रयोगले समुदायमै पुगेर क्षयरोगका सम्भावित बिरामी पहिचान गर्न, परीक्षणको दायरा विस्तार गर्न तथा रोगको समयमै निदान र उपचारमा सहयोग पुगेको छ।
समुदायमा क्षयरोगको संक्रमण नियन्त्रण, प्रारम्भिक पहिचान र उपचार सेवामा पहुँच बढाउने उद्देश्यले यस्ता खोजपडताल तथा स्क्रिनिङ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।