धादिङका राजमार्ग क्षेत्रमा मनसुनको उच्च जोखिम : २१ स्थान जोखिम क्षेत्र, १८ स्थान होल्डिङ सेन्टर तोकियाे

धादिङका राजमार्ग क्षेत्रमा मनसुनको उच्च जोखिम : २१ स्थान जोखिम क्षेत्र, १८ स्थान होल्डिङ सेन्टर तोकियाे

  • Kandara Samachar

  • बिहिबार, असार २५, २०८३

  • 44
    SHARES
धादिङका राजमार्ग क्षेत्रमा मनसुनको उच्च जोखिम : २१ स्थान जोखिम क्षेत्र, १८ स्थान होल्डिङ सेन्टर तोकियाे

✍️ सीताराम अधिकारी /धादिङ ।

वर्षायाम सुरुहुन लाग्दा लाइफलाइनकाे रुपमा रहेकाे राजमार्ग क्षेत्रमा गरिने यात्रालाई सुरक्षित बनाउने याेजना बनाइएको छ ।

मनसुन सक्रिय भएसँगै धादिङ भएर गुज्रिने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा हुन सक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले २१ स्थानलाई उच्च जोखिम क्षेत्र र १८ स्थानलाई होल्डिङ सेन्टरका रूपमा पहिचान गरेको छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दाको जिउधनको सुरक्षा गर्दै अवस्था सामान्य नहुँदासम्म सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टरको व्यवस्था गरिएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका विषयमा महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा पहिरो तथा बाढीका कारण पटक–पटक सडक अवरुद्ध हुने सम्भावनालाई विश्लेषण गर्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ।

गजुरी गाउँपालिकाअन्तर्गत चालिसे, परेवा भिर, पोखरे खोला, बिहानी पम्प, हिलटप, थाक्रेकाे

सातकिला र महादेवबेँसी, गल्छी गाउँपालिकाअन्तर्गत चिरौँदी पुल, महेशदोभान, सिमबजार र खेस्टेखोला, धुनिबेसि अन्तर्गत खानीखोला तिरतिरे धारा, ठूलो खोला र बाहुनेडाँडा, तथा बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत तिक्राङ खानी, सलाङघाट र कृष्णभिर लगायतका स्थानलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिम क्षेत्रका रूपमा सूचीकृत गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्ररहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे ।

विगतका वर्षहरुकाे अनुभवका अाधारमा जाेखिम क्षेत्र पहिचान गरिएकाे हाे ।

समितिका अनुसार राजमार्ग आसपासका अन्य जोखिमयुक्त २१ स्थान पहिचान गरिएको हो।

राजमार्ग अवरुद्ध भई यात्रु अलपत्र पर्ने अवस्था आउन नदिन विभिन्न स्थानमा होल्डिङ सेन्टर पनि तोकिएको छ। खानीखोला क्षेत्र, महादेवबेँसी, सोप्याङखोला, सिम्ले, महेडीखोला, गल्छी बैरेनी, गलौदी, चाम्वास, चिरौँदी बजार, मलेखु बजार लगायत गरी जिल्लाभर १८ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिनेछ। यस्ता केन्द्रमा यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा राख्ने, आवश्यक परे राहत तथा प्राथमिक सेवा उपलब्ध गराउने व्यवस्था गरिने समितिले जनाएको छ।

हाेल्डिङ सेन्टर सुरक्षा सुरक्षा निकायले गर्नेछ भने स्थानीय सरकारले व्यवस्थापकीय रुपमा सघाउने छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले विपद् भएको केही समयभित्रै उद्धार तथा प्रतिकार्य गर्न सकिने गरी सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। राजमार्गमा हुने विपद्का घटनामा सूचना प्राप्त भएलगत्तै समन्वयात्मक रूपमा उद्धार तथा राहत परिचालन गरिने उहाँको भनाइ थियो।

बैठकले मनसुनको समय भएकाले सबै स्थानीय तह, सरकारी कार्यालय, आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विपद्का बेला विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्ने व्यवस्था मिलाइने निर्णय पनि गरिएको छ। स्थानीय व्यवसायीलाई खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।

विपद्जन्य घटनाको जानकारी लिन तथा दिन नेपाल सरकारले सञ्चालनमा ल्याएको टोल–फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन १०० लाई जिल्लाका जोखिमयुक्त स्थान, राजमार्ग तथा स्थानीय तहमा विभिन्न सञ्चार माध्यममार्फत व्यापक प्रचारप्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै विषयगत (क्लस्टर) समूहहरूले आफ्नो कार्यक्षेत्रअनुसार मनसुनजन्य विपद् व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्ने, अद्यावधिक गरिएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य तथा मनसुन आपत्कालीन योजना–२०८३ स्वीकृत गरी प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरिएको छ।

बैठकले धादिङबेँसी–धुवाकोट हुँदै नेत्रावती डबजोङ गाउँपालिका जोड्ने सडकका विभिन्न खण्ड पहिरोले क्षतिग्रस्त भएकाले मर्मत सम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौँडासँग अनुरोध गर्ने निर्णय गरेको छ। वर्षा र हावाहुरीका कारण ढल्ने विद्युत् पोल तथा अवरुद्ध हुने प्रसारण लाइनको समयमै मर्मत गरी विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई पनि आग्रह गरिएको छ।

यसैगरी धुनीबेँसी नगरपालिकाको सिफारिसअनुसार वृद्धाश्रम प्रयोजनका लागि कि.नं. १७० अन्तर्गतको १९–६–२–० क्षेत्रफल जग्गा लिजमा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। उक्त जग्गा विपद्को समयमा आवश्यक नपर्ने र आवश्यक परे बाँकी क्षेत्र प्रयोग गर्न सकिने निष्कर्ष समितिले निकालेको छ।

बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरूले पनि मनसुनजन्य विपद्का लागि स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरिएको बताएका छन्। बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले उद्धार, राहत तथा नागरिक सुरक्षाका लागि गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले पालिका स्तरीय विपद् व्यवस्थापन समितिले प्रतिकार्य योजनासहित आवश्यक पूर्वतयारी पूरा गरी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मनसुन अवधिभर सबै निकायबीच समन्वय, द्रुत सूचना प्रवाह, तत्काल उद्धार तथा प्रभावकारी प्रतिकार्यलाई प्राथमिकतामा राख्दै जिल्लाव्यापी तयारीलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar