धुसेनीकाे बाैद्ध गुम्बामा ६६ जनाकाे माैन ब्रत

धुसेनीकाे बाैद्ध गुम्बामा ६६ जनाकाे माैन ब्रत

  • Kandara Samachar

  • बुधबार, कार्तिक ५, २०८३

  • 28
    SHARES
धुसेनीकाे बाैद्ध गुम्बामा ६६ जनाकाे माैन ब्रत

धादिङ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, धुसेनीस्थित डल्ले बौद्ध गुम्बामा समस्त प्राणीको उद्धार, अकालमा ज्यान गुमाएका पशुप्राणीको चीरशान्ति तथा राष्ट्रको सुख, शान्ति र कल्याणको कामना गर्दै तीनदिने ञ्युङ्ने मौन व्रत सञ्चालन भइरहेको छ।

बौद्ध धर्मअनुसार शरीर, वचन र मनको शुद्धीकरण गर्दै करुणा, अहिंसा, संयम र परोपकारको अभ्यास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त धार्मिक अनुष्ठानमा ६६ जना सहभागी भएका छन्। सहभागीमध्ये ३७ जना पुरुष र २९ जना महिला रहेको कार्यक्रमका संयोजक सुसन तामाङले जानकारी दिए।

तामाङका अनुसार व्रतमा गंगाजमुना गाउँपालिकाका विभिन्न बस्तीका साथै तावल, चिम्चोक, लताप र गुम्दीलगायत छिमेकी गाउँका बौद्ध धर्मावलम्बीहरूको समेत सहभागिता रहेको छ।

नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष तथा धर्मगुरु बौद्ध आचार्य खेन्पो पेमा सम्बा लामाको सान्निध्यमा सञ्चालन भइरहेको व्रतमा धार्मिक विधिअनुसार शील प्रदान गरी कार्यक्रम अघि बढाइएको आयोजकले जनाएको छ।

बौद्ध परम्परामा ञ्युङ्ने व्रतलाई आत्मसंयम, ध्यान, प्रार्थना र करुणाको अभ्यासका रूपमा लिइन्छ। यस अवधिमा सहभागीहरूले मौन, ध्यान तथा पूजापाठमार्फत आफ्नो मनलाई शान्त बनाउने र समस्त प्राणीको दुःख निवारण तथा सुख, शान्तिको कामना गर्ने धार्मिक विश्वास छ।

विशेषगरी महायान बौद्ध परम्परामा ञ्युङ्ने साधनालाई करुणा र अहिंसाको अभ्यासका रूपमा महत्त्व दिइन्छ। आफू मात्र नभई सबै सजीव प्राणीको कल्याणको कामना गर्नु यस साधनाको प्रमुख उद्देश्य मानिन्छ।

जन्म, मृत्यु र जीवनका दुःखबाट मुक्ति तथा दिवंगत प्राणीहरूको शान्तिको कामनासहित सञ्चालन गरिने यस्ता धार्मिक अनुष्ठानले आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सद्भाव, सहिष्णुता र परोपकारको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिन्छ।

धर्म, करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित ञ्युङ्ने मौन व्रतले स्थानीय बौद्ध धर्मावलम्बीहरूलाई धार्मिक तथा आध्यात्मिक साधनामा जोड्नुका साथै समस्त प्राणीको सुख, शान्ति र कल्याणको कामना गर्ने साझा अवसर प्रदान गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar