२३ शब गलाैदाे हाइट जंगलमा गाडियाे

२३ शब गलाैदाे हाइट जंगलमा गाडियाे

  • Kandara Samachar

  • मङ्लबार, भदौ १६, २०८३

  • 62
    SHARES
२३ शब गलाैदाे हाइट जंगलमा गाडियाे

धादिङ

भोटेकोसी बाढीले बगाएर ल्याएका पहिचान नखुलेका शव तथा मानव शरीरका अंगहरू धादिङको गजुरी गाउँपालिका–५ गलाैदाे हाइट स्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ।

बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवहरू गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए। शव कुहिन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान नखुलेका शव तथा शरीरका अंगहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार व्यवस्थापनअघि शव तथा शरीरका अंगहरूको मुचुल्का तयार गरी पोस्टमार्टम तथा डीएनए नमुना संकलन गरिएको थियो। त्यसपछि शव व्यवस्थापन कार्यविधिअनुसार खाडल खनी शवहरूलाई छुट्टाछुट्टै नम्बर दिएर राखिएको छ।

यस क्रममा सग्लो शरीर भएका दुई शव र शरीरका विभिन्न अंग भएका २१ शव गरी जम्मा २३ शव तथा अंग व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शवहरू भविष्यमा सहज रूपमा पहिचान गर्न सकिने गरी नम्बरिङ गरेर राखिएको छ।

डीएसपी दाहालका अनुसार डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराई प्रचलित अन्तिम संस्कारअनुसार लैजान सक्ने व्यवस्था मिलाइएको छ।

यसअघि पनि बाढीबाट संकलन गरिएका २७ शव पोखरा र ६ शव काठमाडौं पठाएर व्यवस्थापन गरिएको थियो। गजुरीमा रहेका पहिचान नखुलेका शव तथा अंगसमेत व्यवस्थापन गरिएपछि बाढीबाट संकलन भएका सम्पूर्ण शवको व्यवस्थापन कार्य पूरा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको पहिचानका लागि संकलन गरिएको डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा आफन्तको डीएनएसँग मिलान भई पहिचान खुलेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने व्यवस्था गरिनेछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar