ज्वालामुखीका कर्मचारीले एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा पठाउने

ज्वालामुखीका कर्मचारीले एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा पठाउने

  • Kandara Samachar

  • बुधबार, भदौ १०, २०८३

  • 44
    SHARES
ज्वालामुखीका कर्मचारीले एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा पठाउने

धादिङ ।

रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरू राहत र उद्धारमा सहयोग जुटाउन आफैं अघि सरेका छन्।

गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा क्षति न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले जानकारी दिनुभयो।

विपद्का कारण धेरै परिवार संकटमा परेको अवस्थामा सरकारी संयन्त्रमा कार्यरत कर्मचारीले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। “विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो पनि सामाजिक दायित्व हो,” शाहले भन्नुभयो।

बाढी र पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला ज्वालामुखीका कर्मचारीको यो पहलले सकारात्मक सन्देश दिएको छ।

कर्मचारीहरूले आफ्नो आम्दानीको हिस्सा विपद् प्रभावितका लागि छुट्याउने निर्णयले सरकारी सेवामा रहेका व्यक्तिको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ। विपद्को समयमा राज्यका निकाय, कर्मचारी, नागरिक समाज र आम समुदायबीचको सहकार्य आवश्यक रहेको सन्देशसमेत यस अभियानले दिएको छ।

ज्वालामुखी गाउँपालिकाका कर्मचारीको यो सहयोगले संकटमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपद्को सामना सामूहिक प्रयासबाट गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar