धादिङ।
रसुवागढी–भोटेकोशी हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
नगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक दीपक विश्वकर्माको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले बाढीका कारण अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने र बजारमा कृत्रिम अभाव तथा मूल्यवृद्धि हुन सक्ने अवस्थाप्रति सचेत रहँदै नियमित बजार अनुगमन गर्ने निर्णय गरेको हो।
बैठकले खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुको मौज्दातको अवस्थाबारे जानकारी लिने तथा व्यापारीलाई अनावश्यक मूल्यवृद्धि नगरी वस्तुको सहज बिक्री–वितरण गर्न आग्रह गर्ने निर्णय गरेको छ। अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सम्बन्धित उद्योगी तथा व्यवसायी र प्रशासनसँग समन्वय गर्ने पनि निर्णय भएको छ।
बाढी र पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेपछि बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखी अनुगमनलाई निरन्तरता दिने समितिले जनाएको छ।
बैठकले विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तामाथि अनुचित मूल्य थोपर्ने व्यवसायीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको छ।
समितिले विपद्को समयमा उपभोक्तालाई आवश्यक पर्ने सामग्रीको सहज आपूर्ति र उचित मूल्य कायम गर्न व्यवसायी, उपभोक्ता तथा सम्बन्धित निकाय सबैलाई सहयोग र संयमता अपनाउन आग्रह गरेको छ।
बैठकमा नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, प्रशासन तथा बजार अनुगमनसँग सम्बन्धित पदाधिकारीको सहभागिता रहेको थियो।