धादिङ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गतको पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीका कारण रसुवा र नुवाकोटसँगै धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको छ। बाढीका कारण सडक तथा आसपासका क्षेत्रमा थप जोखिम उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उनले बताइन्।
प्रशासनले अर्को सूचना जारी नभएसम्म राजमार्गमा यात्रा नगर्न तथा प्रशासनको निर्णयको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।