शैक्षिक जागरणका सारथी गुरु सराेजकुमार अधिकारी

शैक्षिक जागरणका सारथी गुरु सराेजकुमार अधिकारी

  • Kandara Samachar

  • शनिबार, भदौ ६, २०८३

  • 65
    SHARES
शैक्षिक जागरणका सारथी गुरु सराेजकुमार अधिकारी

                 ✍️ डा. सदानन्द कँडेल

 (म उहाँको शिष्य हुन्जेलसम्म सधैँ माड्साप नै भनेर सम्बोधन गरेँ । ‘सर’ भन्न जानेको त २०३१ सालमा आदर्श मा. वि. मा कक्षा ६ मा भर्ना भएपछि मात्रै हो । पाँच दशक अघिको मौलिक सम्बोधन हो – ‘माड्साप’ । अर्गानिक छ यो शब्द । दिल छुन्छ यसले । त्यसैले आदरणीय गुरुसँग अनुमति लिएर ‘माड्साप’ शब्द प्रयोग गर्दै विगतलाई फर्केर हेर्ने प्रयास गरेको छु । संस्मरणात्मक जीवनी झल्किने गरी गुरुको अनुभव तथा योगदान र आफ्नो अनुभूतिलाई अन्तरघुलन गरेर अभिलेखीकरण गर्ने जमर्को गरेको छु – एक शिष्यको नाताले । सरोज माड्सापसँग लामो अन्तर्वार्ता लिएर, दस्ताबेजहरू सिहावलोकन गरेर, उहाँका नौ जना शिष्यहरू तथा चार जना पूर्व परिचित शिक्षासेवीहरूका विचारलाई समाविष्ट गरेर गुरु दक्षिणाको रूपमा यो आलेख पस्किएको छु ।)

डा. सदानन्द कडेल
जन्मस्थान तथा पारिवारिक पृष्ठभूमि
वि. सं. २००८ वैशाख १४ गते चितवन जिल्लाको काउले गाउँ पंचायत -४ तल्लो काउले (हाल इच्छाकामना गाउँपालिका -२) मा जन्मिनु भएका सरोजकुमार अधिकारी, धुंगबहादुर अधिकारी र सावित्रीमाया अधिकारीको सुपुत्र हुनुहुन्छ । २०२९ सालमा बितलब धरमपानीकी विष्णुमाया पाण्डेसँग लगनगाँठो कस्नु भएका अधिकारीका चार छोराहरू – सुवासचन्द्र अधिकारी, सुदीपचन्द्र अधिकारी, इश्वरचन्द्र अधिकारी, मधुसुदन अधिकारी र दुई छोरीहरू – रिता अधिकारी खड्का र कल्पना अधिकारी खनाल हुनुहुन्छ । हाल उहाँ धादिङ जिल्लाको बेनिघाट रोराङ-९ मझिमटारमा सेवानिवृत्त जीवन बिताइरहनु भएको छ ।
संस्थापक शिक्षक/प्रधानाध्यापकको रूपमा योगदान
धादिङ जिल्लाको बितलब गाउँ भन्नाले माख्लो गाउँ, तल्लो गाउँ, बेलभन्ज्याङ, भीरबारी, छापखोला, परेपानी, धरमपानी, बगैँचा, नाइँडाँडा, घान्द्राङ, आँपखोला, आँपटार, भुट्टार, बेलटार, मायाटार, ठाँटिटार, आँमभन्ज्याङ, भुवानटारी, अमारे र अमिल्टारलाई बुझ्ने गरिन्छ । २०२७ सालसम्म पनि यो गाउँमा सरकारी स्वीकृति प्राप्त कुनै विद्यालय थिएन । यहाँ एस. एल. सी. उत्तीर्ण गर्ने कोही पनि थिएन । दशवर्ष अघिदेखि गुरुकुलको रूपमा ठाउँठाउँमा विभिन्न ब्रह्मचारी तथा गुरुहरूले आक्कलझुक्कल पढाउने काम गर्नु भएको थियो । बितलबस्थित पाँडेको डाँडामा जोगीले केही समय पढाउन थाले पनि बीचैमा बन्द भयो । काठमाडौँबाट आएका नेवार गुरुले दमाहाचौरमा केही समय पढाए । बितलब तल्लो गाउँस्थित पोखरी थुम्कामा हेमप्रसाद बराकोटी (ठूले) ले केही समय पढाउनु भयो । त्यो पनि चल्न सकेन । धरमपानीस्थित पँधेरपारि भन्ने ठाउँमा छाप्रो बनाएर संचालन भएको विद्यालय पनि दिगो भएन । एक शैक्षिक सत्र पूरा गर्नेगरी पाठशाला स्थापना हुन सकेको थिएन ।
औलो उन्मुलन भएपछि बितलब वेशीमा बस्ति बाक्लो हुँदै गयो । तत्कालीन गजुरी गाउँ पंचायत वडा नं. ४ स्थित ठाँटिटारको छाप्रोमा एक ब्रह्मचारीले पढाउन थाल्नुभयो । उहाँलाई नेपाली मात्र पढाउन आउने हुँदा अंग्रेजी पनि जान्ने नयाँ शिक्षकको खाँचोबारे चर्चा चलिरहेको थियो । यसैबीच, चितवन जिल्लाको खैरहनी माध्यमिक विद्यालयमा दशौँ कक्षासम्म अध्ययन गर्नु भएका १९ वर्षे लक्का जवान युवक बितलबमा बिहानीको झुल्के घाम झैँ झुल्कनु भयो । आफ्नो आगमनबारे तल्लो काउले निवासी सरोजकुमार अधिकारी भन्नुहुन्छ, “ठाँटिटारमा गुल्मीका ब्रह्मचारी जगन्नाथ अधिकारीले पढाउनु हुन्थ्यो । म मेरो मामाघर रावलडाँडा गइरहन्थें । बाटो पर्ने हुँदा ब्रह्मचारीले मलाई ‘भान्जा, ठाँटिटारतिर पस्नुस्’ भन्नुहुन्थ्यो । कुनै बेला मलाई पढाउन पनि लगाउनु हुन्थ्यो । मेरो शिक्षणलाई विद्यार्थीहरूले मन पराएका थिए । केहीपछि एकदिन ठाँटिटारबाट कृष्णराज कडेल र स्व. काजीराम पाण्डेलगायत केही विद्यार्थीहरू मलाई लिन रावलडाँडा जानु भयो । उहाँहरूको अनुरोधलाई हार्न नसकेर मैले २०२७ साल फागुनदेखि ठाँटिटारमा पढाउन थालेको हुँ ।”
दुई महिना पढाएपछि उहाँलाई २०२८ साल वैशाख १ गते तत्कालीन संस्थापक संचालक समितिका चार जनाले हस्ताक्षर गरेर प्राथमिक शिक्षकको पदमा नियुक्ति दिइएको थियो । उहाँहरू हुनुहुन्थ्यो – स्व. जीवनारायण कँडेल (अध्यक्ष), ख्यामराज खरेल (उपाध्यक्ष), स्व. हरिनारायण कँडेल (कोषाध्यक्ष) र हरिप्रसाद पाण्डे (सचिव) ।
वि. सं. २०२८ को मंसिरमा परीक्षा सकेर अधिकारी घर जानु भयो । उहाँले फर्किन ढिला गरेपछि सुरुमा केही हप्ता भुवनबहादुर उप्रेतीले पढाउनु भयो । कहिलेकाहिँ उहाँका भाइ टीकाबहादुर उप्रेती पनि दाजुको सट्टामा पढाउन आउने गर्नुहुन्थ्यो । त्यसपछि केही महिना वासुदेव कडेलले पनि पढाउनु भयो । उहाँले छोडेर विशालटार पढाउन जानु भएपछि फेरि सरोज माड्सापलाई बोलाएर ल्याइयो । उहाँले २०३३ सालसम्म अविच्छिन्न रूपमा पढाउनु भयो । साथै, संस्थापक प्राधानाध्यापकको भूमिका पनि निर्वाह गर्नु भयो । यद्यपि, नियुक्ति पत्रमा ‘प्रधानाध्यापक’ उल्लेख गरिएको थिएन ।

मैले जिन्दगीमा सबैभन्दा पहिले भेटेको माड्साप हुनुहुन्थ्यो स्व. तोयाराज कडेल (पण्डित भाइ कान्छा) । उहाँले धरमपानी – पँधेरपारिस्थित शमीको रूख मुनि मलाई केही समय पढाउनु भएको थियो । त्यतिबेला हाम्रो घर धरमपानीमा थियो । धरमपानीबाट बसाइँ सरेर अमिल्टार गएपछि म ठाँटिटारमा पढ्न जान थालेको थिएँ । ब्रह्मचारी माड्सापलाई फूल वा फूल नभए घुर्सिलको पात टिपेर उहाँको पाउमा राखेर ढोग्नु पर्थ्यो । माड्सापले लट्ठीले ढाडमा हिर्काउनु हुन्थ्यो । मभन्दा अघि पढ्नु भएका कृष्णराज कडेल र स्व. काजीराम पाण्डेको नेतृत्वमा हड्ताल गरियो । माग थियो – “हामी माड्सापको खुट्टामा ढोग्दैनौं । हामीलाई अंग्रेजी पनि पढाउने माड्साप चाहिन्छ ।” हामी सबैले साथ दियौँ । जिन्दगीकै पहिलो हड्ताल सफल भयो । कृष्णराज कडेल, स्व. काजीराम पाण्डे लगायतका सिनियरहरूले रावलडाँडा पुगेर नयाँ माड्सापलाई लिएर आउनु भएको थियो । ठाँटिटारमा पहिलो पटक नयाँ तथा ठिटो माड्सापलाई भेट्दा म दङ्ग परेको थिएँ । उहाँलाई खुट्टामा ढोग्नु पर्दैनथ्यो । ‘नमस्ते माड्साप’ मात्र भने पुग्थ्यो ।
उहाँको बोलाउने नाम जनक भएकोले उहाँलाई कति अभिभावकले ‘जनक माड्साप’ पनि भन्थे । लामो कपाल पालेर जुँगामा ताउ लगाउने हुँदा कतिले उहाँलाई ‘जुंगे माड्साप’ पनि भन्थे । उहाँको अक्षर एकदम राम्रो थियो । मलाई ह्याण्ड राइटिङ राम्रो बनाउन सिकाउनु हुन्थ्यो । हाल आफ्नो ह्याण्ड राइटिङ अति प्रिय त लाग्दैन तर अप्रिय पनि छैन । जे छ त्यसमा उहाँको प्रेरणा छ भन्ने लाग्छ ।
मेरो बा हरिनारायण कँडेल विद्यालयको संस्थापक संचालक समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो । “मासिक पचास रुपियाँ तलब दिने वाचा गरे पनि अभिभावकबाट मासिक एक रुपियाँ नउठेकोले माड्सापलाई दिन सकिएन” उहाँले बेला-बेला भन्ने गर्नु भएको मैले सुनेको थिएँ । माड्साप अमिल्टारस्थित हाम्रो घरमा पनि बस्नु भएको थियो । फालैंचामा सुत्नु हुन्थ्यो । मलाई छेउमा राखेर पढ्न सिकाउनु हुन्थ्यो । मेरी आमाले “जस्तो तरकारी पकाएर दिए पनि केही नभनी खाने कस्तो ज्ञानी मास्टर बाबू” भन्नु हुन्थ्यो ।
सरोज माड्सापलाई २०३२ मंसिर २९ गते जिल्ला शिक्षा समिति धादिङले मासिक १३५ रुपियाँ पाउने गरी प्राथमिक शिक्षक पदमा नियुक्ति दिएको थियो । त्यसपछि मात्र उहाँले नियमित रूपमा तलब पाउन थाल्नु भएको हो ।
सामाजिक तथा सांस्कृतिक जागरणमा अगुवाइ
आजभन्दा चवन्न वर्षअघि टेलिभिजन थिएन । रेडियो नेपाल त थियो तर घर-घरमा रेडियो थिएन । स्थानीय जात्रामा नाचगान, तिहारमा देउसे-भैलो, विवाह तथा व्रतबन्धमा गान बजान, नारायण पूजामा भजन-कीर्तन त हुने गर्थ्यो । गाउँमा सांस्कृतिक कार्यक्रम कहिल्यै आयोजना गरिएको थिएन । सरोज माड्सापले पढाउन थालेपछि एकाएक गाउँमा ‘नाटक देखाउने रे’ भन्ने हल्ला बतासझैँ फैलियो । ठूला काकाहरू तथा दाइहरूले नाटकमा भाग लिए । कोही स्वयंसेवक बने । हामी साना भुराहरू रमिते बन्यौँ ।
बगैँचाको स्कूलमा मन्च बन्यो । मन्चमा तीनतिर रंगीन पर्दा लगाइयो । कटुवालेले अघिल्लो दिनदेखि नै ठाउँठाउँका डाँडा/थुम्काबाट ठूलो स्वरमा सबैलाई नाटक हेर्न आउन आव्हान गरेका थिए । साँझमा स्कूल जाने बाटोमा हाम्रो गाउँका दर्शकहरूको लर्को लाग्यो । छिमेकी गाउँहरू डाँडागाउँ, हुलाक, भुमेडाँडा, भैसीखोर, चेपाङटारी, मजुवा, छेपाङ, कात्राक, रिचोकटारबाट पनि केही दर्शकहरू आए । दर्शकदीर्घा खचाखच भयो ।
सिटी बज्यो । आफै पर्दा खुल्यो । छेउबाट डोरी मार्फत पर्दा तानेको सुरुमै चाल पाएनन् कसैले । अचम्म भयो । बीचमा एउटा कागज बोकेर उभिएका मझौला कदका फुर्तिला सरोज माड्सापले सबैलाई अभिवादन गरेर कार्यक्रम अघि बढाउनु भयो । त्यसपछि नृत्य, कमिक, प्रहर्सन धुनधान पो भयो त ! गाउँलेहरूलाई पहिलो सांस्कृतिक कार्यक्रमको मीठो स्वाद चखाउने सूत्रधार हुनुहुन्थ्यो सरोज माड्साप । यसको अवधारणा उहाँले ल्याउनु भएको थियो । गीत लेख्ने, गाउने, गाउन सिकाउने, मादल बजाउने, नृत्य गर्न सिकाउने, प्रहर्सन लेख्ने, अभिनय सिकाउने, आफू पनि अभिनय गर्ने एउटै व्यक्ति ! बहुमुखी प्रतिभाका धनि हाम्रा सरोज माड्साप !
प्रहर्सनमा शैक्षिक र सांस्कृतिक चेतना फैलाउने बलिया संदेशहरू हुन्थे । केही व्यंग्य पनि हुन्थे । सुरुका वर्षमा पुरुषले नै भेष बदलेर महिला कलाकारको अभिनय गर्नु पर्थ्यो । बिस्तारै छात्राहरूले पनि भाग लिने थाले । एउटा शिक्षक मात्र नभएर सामाजिक तथा सांस्कृतिक अभियन्ता हुनुहुन्थ्यो सरोज माड्साप । उहाँकै अनुशरण गरेर म शिक्षक हुँदा बलिडाँडा र बैरेनीमा सांस्कृतिक कार्यक्रमको नेतृत्व गरेको थिएँ । उहाँले जस्तै मैले पनि गीत लेख्ने, गाउन लगाउने, प्रहर्सन लेख्ने, अभिनय गर्न सिकाउने, आफै अभिनय गर्ने तथा नृत्य सिकाउने काम गरेको थिएँ । माड्सापले जस्तो मादल बजाउने कार्य चाहिं मैले गरिन ।
नरम बोली, सबैसँग घुलमिल हुने स्वभाव भएका माड्सापले जनस्रमदानको लागि अथक प्रयास गर्नु भयो । गाउँलेहरूलाई झारफुक तथा आधारभूत रूपमा ओखतीमुलोबारे पनि सिकाउने माड्साप गाउँमा झगडा पर्दा मिलापत्र लेखिदिने ‘वकिल’ पनि बन्नु हुन्थ्यो । दशैँ आउन लागेपछि गाउँघरमा बाटो खन्ने, रोटेपिङ हाल्ने कार्यमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो ।

बितलब पश्चात जरुङ, ठिबाङ, मझिमटार र फचिमटारमा शिक्षण

अधिकारीले २०३४ सालदेखि २०३७ सालसम्म जरुङ सिमटार प्रा. वि., जरुङमा प्रधानाध्यापकको रूपमा नेतृत्व लिनु भएको थियो । त्यसपछि २०३८ सालदेखि शंखादेवी प्रा. वि. ठिबाङमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो । उहाँकै नेतृत्वमा विद्यालयलाई पृथ्वी राजमार्गमा रहेको मझिमटारमा झार्ने काम भयो । बिस्तारै शंखादेवी प्रा. वि. लाई नि. मा. वि. र मा. वि. को रूपमा तहवृद्धि गरियो । वि. सं. २०५१ देखि २०७२ सम्म उहाँले पंचायत प्रा. वि. फचिमटारमा प्रधानाध्यापक बनेर सेवा गर्नु भयो । उहाँलाई २०६८ मंसिर २६ मा जिल्ला शिक्षा कार्यालय धादिङले प्राथमिक तह द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा गरेको थियो ।
योगदानको कदर गर्दै अधिकारीलाई अभिनन्दन तथा सम्मान
वि. सं. २०५४ असोज २६ गते बितलब समाज, धादिङले अधिकारीलाई अभिनन्दन गरेको थियो । अभिनन्दन-पत्रमा उल्लेख गरिएको छ – “कतै ठाँटिमा, चौतारीमा र पिंढीमा पाठशाला संचालन भैरहेको बेला यहाँले ज्ञानको ज्योति लिएर गाउँ प्रवेश गरी श्री जनजागृति प्रा. वि. लाई स्थायी रूप दिनु भएकोमा हामी गौरवान्वित छौँ । यस तिर्नै नसकिने ऋणको लागि र कृपापूर्ण स्नेहको निमित्त हामी शिष्यहरू मुटुभरिकै श्रद्धा कुसुमको यो अभिनन्दन-पत्र आदरपूर्वक यहाँमा समर्पित गर्दछौँ ।”
वि. सं. २०६० फागुन १२ गते मनाइएको २९ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङद्वारा उहाँलाई दोसल्ला ओढाई कदर-पत्र प्रदान गरिएको थियो । उक्त कदर-पत्रमा ‘शिक्षण पेशामा लामो समयदेखि अध्यापन गरी धादिङ जिल्लाको शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएको’ कुरा उल्लेख गरिएको छ ।
वि. सं. २०८१ पुस २१ गते जनजागृति आधारभूत विद्यालयले आफ्नो ५४ औँ वार्षिक उत्सव तथा पूर्व शिक्षक एवम् पूर्व विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरी संस्थापक शिक्षक अधिकारीलाई उहाँको योगदानको कदरस्वरूप सम्मान अर्पण गरेको थियो । सम्मान-पत्रमा लेखिएको छ, “यस श्री जनजागृति आ. वि. गजुरी – २, बितलबको पूर्व शिक्षक तपाईं श्री सरोजकुमार अधिकारीले यस विद्यालय स्थापना गर्न गर्नु भएको पहल र संस्थापक प्रधानाध्यापक भई गर्नु भएको अतुलनीय शैक्षिक योगदानको उच्च सम्मान गर्दै विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसरमा यो सम्मान-पत्र प्रदान गरिएको छ ।”
अधिकारीको सम्झनामा उहाँका विद्यार्थीहरू
आफूले पढाएका विद्यार्थीहरूबारे स्मरण गर्दै अधिकारी भन्नुहुन्छ, “आफूले पढाएका विद्यार्थीहरूमध्ये पहिलो पटक भेट्दा माथिल्लो कक्षामा भएकाहरूको सम्झना बढी आउने रहेछ । उनीहरू हुन् – टीकाप्रसाद कँडेल, डा. तारानाथ पाण्डे, कृष्णराज कडेल र स्व. काजीराम पाण्डे । रोजनाथ कँडेल पटक-पटक मेरो घरमा पनि आएका छन् । फोन पनि गर्छन् । उनको घरमा हुने पूजामा पनि निम्ता गर्छन् । डा. सदानन्द कडेलले एक पटक मझिमटार आएर मलाई भेटेका छन् । गुरु पूर्णिमाको दिन फोन गर्छन् । फेसबुकमा फोटो पोस्ट गर्छन् । यी दुईका कक्षाका अरू भाइहरू हुन् – काशीराज कँडेल, स्व. डिल्लीप्रसाद पाण्डे, स्व. ओमबहादुर पाण्डे, चन्द्रबहादुर नेपाली, शिवबहादुर नेपाली र धनबहादुर तामाङ । मलाई सम्झना भएका अन्य विद्यार्थीहरू हुन् – डा. रोजनाथ पाण्डे, राजेन्द्र पाण्डे, युवराज पाण्डे, धनबहादुर परियार, स्व. दिव्यकान्त पन्त, भीमप्रसाद पन्त, बुद्धि तामाङ, अनिलकुमार कँडेल, रामप्रसाद कँडेल, अनिता कँडेल, अम्बिका बराकोटी, सावित्री बाराकोटी, चोपबहादुर परियार, आदि । धेरै नाम त बिर्सिसकेछु ।”
विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूको नजरमा अधिकारी
प्रेमप्रसाद बराकोटी :
चौरासी वर्षीय वरिष्ठ समाजसेवी तथा गुरुपुरोहित प्रेमप्रसाद बराकोटी सरोज माड्सापको प्रशंसक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरोज माड्सापले हाम्रो गाउँका धेरै बालबालिकाहरूको आँखा खोल्ने काम गर्नु भयो । केही समय त ब्रह्मचारीले पढाए । भुवनबहादुर उप्रेतीले पनि पढाए । तर, कोही पनि लामो समय टिकेन । सरोज माड्सापले ५-६ वर्ष टिकेर राम्रोसँग पढाउनु भयो । बगैँचामा विद्यालय भवन, खेलमैदान र पर्खाल बनाउने काममा उहाँले नै नेतृत्व लिएर राम्रो काम गर्नु भयो । राम्रो योगदान दिने इमान्दार व्यक्ति सरोज माड्सापको हामी सम्मान गर्छौँ ।”
लीलानाथ कँडेल :
गजुरी – २ बितलब भुट्टार निवासी समाजसेवी तथा पूर्व वडा अध्यक्ष लीलानाथ त्रिपाठी सरोजकुमार अधिकारीको बारेमा भन्नुहुन्छ, “२०१६-०१७ सालतिर डाँडाघरमा लालबाबा बसेका थिए । उनले केहीलाई अक्षर चिनाउने काम गरेका थिए । एक-दुई वर्षपछि दमाहाचौरमा काठमाडौँबाट आएका एक नेवार गुरुले पढाउन थालेका थिए । त्यो कक्षा लामो समय चल्न सकेन । बितलब र राक्सिङ दुई गाउँ मिलेर ठूलो पोखरीमा स्कूल खोले । टाढा भए पनि बितलबका विद्यार्थी जान थालेका थिए । त्यसपछि तल्लो गाउँ नजिकै पोखरी थुम्कामा पनि ठुले बराकोटीले केही समय पढाए । पच्चीस सालतिर धरमपानी – पँधेरपारिमा कटुसको छाप्रो बनाएर पढाउन थाले । त्यहाँ पनि ठुले बराकोटी र ब्रह्मचारीले पढाए । एक वर्षपछि बितलब वेशी ठाँटिटार (मायाटारको पुछार) मा स्कूल सारियो । पछि फेरि त्यो स्कूललाई बगैँचामा लैजाने काम भयो । जनजागृति प्रा. वि. को सुरुआत भयो । यसका संस्थापक शिक्षक हुनुहुन्छ सरोजकुमार अधिकारी । उहाँनै अहिलेको स्कूलको फेद हो । उहाँले नै स्कूलको नाम राख्नु भएको हो । उहाँको योगदान ठूलो छ ।”
डा. वासुदेव कँडेल :
वरिष्ठ आयुर्वेदिक चिकित्सक, जनजागृति प्रा. वि. पूर्व शिक्षक तथा बितलबबाट एस. एल. सी उत्तीर्ण गर्ने पहिलो व्यक्ति डा. वासुदेव कडेल बताउनु हुन्छ, “बितलबमा स्कूल नभएकोले मैले ठूलो पोखरी गएर पढेको हुँ । एस. एल. सी. पास गरेका गुरु गङ्गाप्रसाद पाठकले पढाउनु भएको थियो । कक्षा ८-१० सम्म आदर्श हाईस्कूल गजुरीमा पढेर २०२८ सालमा एस. एल. सी. दिएपछि मैले ठाँटिटारमा ३-४ महिना पढाएँ ।
सरोजकुमार अधिकारीले बीचमा पढाउन छोड्नु भएपछि भुवनबहादुर उप्रेती आउनु भयो । उहाँले पनि छिट्टै छोड्नु भएपछि मैले पढाएको हुँ । एउटा परीक्षा पनि संचालन गरेँ । जिल्ला सदरमुकाम सुनौलाबजारबाट जनजागृति प्रा. वि. को अस्थायी स्वीकृति ल्याउने काम पनि मैले गरेको थिएँ । म विशालटारतिर पढाउन थालेपछि सरोजजी फेरि आउनु भयो । उहाँले निरन्तरता दिएपछि विद्यालयको राम्रो प्रगति भयो । उहाँ सबैसँग मिल्न सक्ने व्यक्ति हो । उहाँले धेरै राम्रो गर्नु भयो ।”
मणिराज कँडेल :
जनजागृति प्रा. वि. का पूर्व शिक्षक मणिराज कडेल भन्नुहुन्छ, “मैले यो विद्यालयमा २०३२ साल भदौदेखि २०३३ जेठसम्म प्राधानाध्यापकको रूपमा काम गरेको थिएँ । त्योभन्दा अघि सरोजजी एकजना मात्रै हुनु शिक्षक हुनुहुन्थ्यो । केही महिना सँगै पढाएपछि उहाँ जरुङ जानु भयो । पछि म पनि आई. एड. अध्ययनको लागि काठमाडौँ गएँ । सरोजजीले तलब नलिईकन पढाउनु भयो । जनजागृति नाम उहाँले नै राख्नु भएको हो । बगैँचामा विद्यालय भवन, खेल मैदान र पर्खाल निर्माणको लागि ठूलो योगदान गर्नु भयो । उहाँलाई बितलबवासीले सधैँ सम्झिन्छन् ।”

कृष्णराज कँडेल :
समाजसेवी तथा पूर्व वडा अध्यक्ष कृष्णराज कडेल भन्नुहुन्छ, “ठाँटिटारमा ब्रह्मचारीले पढाउने गर्नु हुन्थ्यो । उहाँले आफ्नो खुट्टामा ढोग्न लगाएर ढाडमा लट्ठीले हान्ने गर्नु हुन्थ्यो । म लगायत अरू साथीहरूलाई मन परेन । हामीले उहाँले पढाएको नपढ्ने निर्णय गर्यौं । रावलडाँडाका रावल बहिदारका भान्जा पढेका मान्छे छन् भन्ने सुनेका थियौं । म, काजीराम र अन्य केही साथीहरू रावलडाँडा गएर सरोजकुमार अधिकारीलाई लिएर आएका हौं । उहाँले हाम्रै घरमा बसेर पढाउन थाल्नु भएको थियो । ठाँटिटारबाट स्कूललाई बगैँचा लगियो । हाम्रो गाउँमा शिक्षाको ज्योति बाल्ने मान्छे नै सरोजकुमार अधिकारी हो । उहाँ आए पछि मात्रै स्कूलमा निरन्तर रूपमा पढाइ संचालन भएको थियो ।“
डा. तारानाथ पाण्डे :
आफ्ना गुरुको बारेमा कृषिविद् डा. तारानाथ पाण्डे आफ्नो धारणा यसरी पोख्नुहुन्छ, “बितलबको पहिलो औपचारिक स्कूलको संस्थापक शिक्षक हुनुहुन्छ सरोज सर । उहाँले मलाई पढाउनु भएको थियो । महिनाको एक मान चामल शिक्षकको लागि उठाउने गरिन्थ्यो । तलब थिएन । रसिक र मिलनसार गुरुले घर-घर डुलेर जनजाति र दलित विद्यार्थीलाई पनि विद्यालयमा भर्ना गर्न गराउन पहल गर्नु भएको थियो । बगैँचामा खारेर छाप्रो बनाइएको थियो । बितलबमा शिक्षाको जग बसालेको श्रेय उहाँलाई जान्छ । रोटेपिङ हाल्न, दशैँमा गोरेटो बाटो सफा गर्न, वृक्षारोपण गर्न र शौचालय बनाउन आव्हान गर्नु हुन्थ्यो । सानो तिनो औषधी उपचार पनि सिकाउनु हुन्थ्यो । गाउँमा झगडा पर्दा मिलाउने कार्यमा सक्रिय हुनुहुन्थ्यो । सांस्कृतिक कार्यक्रम पनि उहाँले नै सुरु गराउनु भएको थियो । उहाँ समुदायको लागि रोल मोडल, पथप्रदर्शक तथा प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”
काशीराज कँडेल :
कृषि विकास बैंकका पूर्व प्रबन्धक तथा जनजागृति प्रा. वि. का पूर्व शिक्षक काशीराज कँडेल भन्नुहुन्छ, “हाम्रो विद्यालय स्थापना गर्नमा सरोज सरको ठूलो योगदान छ । उहाँले शिक्षाको बत्ती बाल्नु भयो । चन्द्रकान्त पाण्डेले नि:शुल्क दिनु भएको बगैँचाको जग्गामा विद्यालय भवन निर्माण गर्दा देउसे भैलो खेलेर चन्दा संकलन गर्ने कार्यमा उहाँ सक्रिय हुनुहुन्थ्यो । सांस्कृतिक कार्यक्रम संचालन गरेर मनोरन्जनका साथै समाजमा शिक्षाको चेतना फैलाउने काम गर्नु भएको थियो ।”

रोजनाथ कँडेल :
जनजागृति प्रा. वि. का पूर्व शिक्षक (२०४५-०६९) रोजनाथ कडेल भन्नुहुन्छ, “हाम्रो गाउँको शैक्षिक विकासमा उहाँको अत्यन्त ठूलो योगदान छ । सरोज माड्सापले बितलबस्थित हाम्रो घरमा बसेर ‘जनजागृति’ नाम जुराउनु भएको हो । ठाँटिटारमा पढाउने ब्रह्मचारीलाई अंग्रेजी पढाउन आउँदैनथ्यो । त्यसैले सरोज माड्सापलाई रावलडाँडाबाट बोलाएर ल्याएको हो । मैले सुने अनुसार उहाँलाई महिनाको रुपियाँ ५० दिने भनिएको भए पनि उहाँले नियमित रूपमा पाउनु भएन । नपाएकोमा चित्त पनि दुखाउनु भएन । उहाँले फुकफाक गर्ने र जडिबुटी बाँध्ने पनि गर्नुहुन्थ्यो । हामीले ढुंगा बोकेको र माड्साप तथा स्व. डिल्लीप्रसाद पाण्डेले पर्खालको गारो लगएको मलाई सम्झना छ । गाउँमा झैँझगडा पर्दा उहाँले मिलापत्र पनि लेखिदिने गर्नुहुन्थ्यो । उहाँ निस्वार्थी, समाजसेवी तथा शिक्षाप्रेमी व्यक्ति हो । म उहाँलाई सधैँ सम्पर्क गर्छु । घरको पूजामा पनि मैले उहाँको जोडीलाई नै निमन्त्रणा गरेको थिएँ । उहाँहरू आउनु हुँदा धेरै खुसी लागेको थियो ।”
अनिलकुमार कँडेल :
जनजागृति प्रा. वि. का पूर्व शिक्षक (२०५३-०६०) अनिलकुमार कँडेल भन्नुहुन्छ, “मलाई सरोज सरले कक्षा १-३ सम्म पढाउनु भएको थियो । म कक्षा ३ मा पढ्दा दुई जना सरहरू सरोज र मणिराज कँडेल हुनुहुन्थ्यो । उहाँले नयाँ-नयाँ रचनात्मक कार्यक्रमहरू, मनोरन्जन, खेलकुद, सांस्कृतिक कार्यक्रम, प्रहर्सन संचालन गर्नु हुन्थ्यो । प्रत्येक महिना प्रति विद्यार्थी एक माना चामल, दाल, तेल, मसला उठाउने गरिएको थियो । जति कक्षा त्यतिकै रुपियाँ मासिक रूपमा उठाउने पनि गरे जस्तो लाग्छ मलाई । हाम्रो गाउँको लागि उहाँ शिक्षाको पिता हो । ‘जनजागृति’ र ‘अस्ताचल बगैँचा’ नाम राखेको उहाँले नै हो ।”
रामप्रसाद कँडेल :
संस्कृतिविद्, नेपाल लोकबाजा संग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेल भन्नुहुन्छ, “आज हामी जहाँ छौँ, त्यहाँ पुग्नुमा अनेकौँ व्यक्तिको योगदान होला । तर, हाम्रो पुस्ताको जीवनमा अक्षरको पहिलो उज्यालो बालिदिने गुरु सरोजकुमार अधिकारीको योगदान विशेष छ । उहाँले हामीलाई केवल क ख रा मात्र सिकाउनु भएन, अनुशासन सिकाउनु भयो । संस्कार सिकाउनु भयो । सिर्जना गर्न सिकाउनु भयो । आफ्नो गाउँ, समाज र संस्कृतिलाई माया गर्न सिकाउनु भयो । त्यसैले गुरु सरोजकुमार अधिकारी हाम्रो नजरमा केवल एउटा व्यक्तिको नाम होइन, उहाँ त बितलबको लागि ज्ञानको ज्योति हुनुहुन्छ । उहाँले बाल्नु भएको त्यो ज्योति पुस्तौँ पुस्तासम्म बलिरहोस् भन्ने हाम्रो कामना छ । उहाँले स्थापना र विकासका लागि योगदान दिनु भएको विद्यालयले पनि हजारौँ वर्षसम्म ज्ञानको दीप बालिरहोस् । त्यहाँबाट निस्कने प्रत्येक विद्यार्थीले आफ्नो गाउँ, समाज र राष्ट्रको नाम उज्यालो बनाओस् । हामीले बाल्यकालमा उहाँबाट सिकेका अक्षरहरू आज शब्द बनेका छन् । शब्दहरू वाक्य बनेका छन् । ती वाक्यहरूले हाम्रो जीवन कथा उजागर गरेका छन् । अक्षरारम्भ गराउने तथा अक्षरको पहिलो रेखा कोरिदिने शिक्षाका अग्रदूत गुरुलाई हामी कहिल्यै बिर्सन सक्दैनौँ । उहाँप्रति हार्दिक नमन !”
सावित्री बराकोटी पन्थ :
गोरखा नगरपालिका देउरालीस्थित राम शाह आधारभूत विद्यालयकी शिक्षक सावित्री बराकोटी पन्थ भन्नु हुन्छ, “मलाई अक्षर चिनाउने नै सरोज सर हो । उहाँले मलाई कक्षा तीनसम्म पढाउनु भएको थियो । विद्यालयको खेल मैदान राम्रो बनाउन छालामा माटो ओसार्न लगाउनु हुन्थ्यो । विद्यार्थीसँगै उहाँले पनि ओसार्नु हुन्थ्यो । वर्षको एकपटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्नु हुन्थ्यो । मलाई पनि नाच्न सिकाउनु भएको थियो । मेरो सहपाठी स्व. दिव्यकान्त पन्त पनि हुनुहुन्थ्यो । सरले विद्यार्थीहरूलाई चित्रकला प्रतियोगितामा भाग लिन प्रेरित गर्नु हुन्थ्यो । सरले कथा सुनाउँदा हामी मन्त्रमुग्ध हुन्थ्यौं । विद्यालयमा धेरै रमाइलो हुन्थ्यो । सरोज सर गाउँले जनसमुदायसँग घुलमिल हुने तथा मेलमिलाप राम्रो गर्ने व्यक्ति हुनुहुन्थ्यो । हाम्रो गाउँको शिक्षा विकासमा उहाँको देन ठूलो छ ।”
भीमप्रसाद पन्त :
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व बोर्ड सदस्य तथा पर्यटन व्यवसायी भीमप्रसाद पन्त भन्नु हुन्छ, “सरोज सरले मलाई पढाउनु भएको थियो । उहाँ पठनपाठन गराउन कडा हुनु हुन्थ्यो । सिलोटमा माटो राखेर सिन्काले लेख्ने अभ्यास पनि गराउनु भएको थियो । जनश्रमदान जुटाएर विद्यालय बनाउने काममा उहाँको ठूलो योगदान छ । उहाँको आग्रहमा हामीले घान्द्राङदेखि पर्खाल लगाउने ढुंगा ओसारेका थियौं । उहाँको तलब हुँदैनथ्यो । चामल, दाल, घिउ, तरकारी आदि विद्यार्थीहरूबाट उठाएर खाने गर्नु भएको थियो । उहाँको योगदान ठूलो छ । नजर अन्दाज गर्न मिल्दैन । बितलबलाई धेरै गुन लगाउनु भएको छ । हामी बिर्सिन सक्दैनौँ ।”
अनिता कडेल जोशी :
समाजसेवी अनिता कँडेल जोशी आफ्ना गुरुलाई यसरी सम्झिनुहुन्छ, “सरोज सर गुणले भरिपूर्ण असल गुरु तथा अभिभावक हुनुहुन्थ्यो । उहाँले विद्यार्थीलाई राम्रोसँग लेखपढ गर्न सिकाउनु हुन्थ्यो । विद्यार्थीको कपाल काटिदिनु हुन्थ्यो । नुवाइधुवाइ तथा सरसफाईमा ध्यान दिन लगाउनु हुन्थ्यो । जहाँ गयो त्यहीँ बालबालिकादेखि बुढाबुढीसम्म सबैसँग घुलमिल हुन सक्नु हुन्थ्यो । हाम्रो घरमा आइरहनु हुन्थ्यो । सबैसँग बसेर गफगाफ गर्नु हुन्थ्यो । उहाँको बोली सुन्दैमा शीतलता महसुस हुन्थ्यो । बालबालिकालाई माया गर्ने हुनाले उहाँसँग बोल्न डर लाग्दैनथ्यो । मैले उहाँलाई तीन महिनाअघि मेरो माइती मायाटारमा भेट्ने अवसर पाएँ । उहाँले चिन्न सक्नु भएन । मैले नाम बताएपछि सर र म्याम दुबै जना धेरै खुसी हुनु भयो ।”

निचोड
सर्वगुण सम्पन्न मान्छे कोही हुँदैन । सरोज माड्सापका पनि कमजोरीहरू होलान् । देश, गाउँ, समाज र आफ्ना विद्यार्थीहरूलाई उहाँले लगाउनु भएका बिर्सिनै नसकिने गुनहरूका सामु ती कमजोरीहरू फिक्का हुन्छन् भन्ने मलाई लाग्छ । यही मानेमा सरोज माड्सापको चेलो हुनुको नाताले मैले उहाँको मुक्त कण्ठले प्रशंसा गरेको हुँ । उहाँको शैक्षिक योग्यता दशौँ कक्षामात्र थियो भन्ने मलाई थाहा छ । गाउँमा एस. एल. सी. पास गरेका कोही थिएनन् । कक्षा ९-१० सम्म पढ्दै गरेका व्यक्ति भए पनि आफ्नो पढाइ छोडेर तथा तलब सुविधा केही नलिईकन वर्षौँसम्म स्वयंसेवा गर्न सक्ने हिम्मतवाला कोही थिएनन् । झन्डै आधा दर्जन गुरुहरू फेरिए पनि अंग्रेजी पढाउन सक्ने कोही थिएनन् । जिन्दगीमा पहिलो पटक हामीलाई अंग्रेजीमा ए बी सी डी सिकाउने हाम्रा गुरुको शैक्षिक योग्यता भनेभन्दा माथि जस्तो लाग्थ्यो हामीलाई त्यतिबेला । सांस्कृतिक र सामाजिक क्षेत्रमा त उहाँ विद्यावारिधि गरेको व्यक्ति समान हुनुहुन्थ्यो हाम्रा लागि । एउटै व्यक्तिमा कति बहुआयामिक प्रतिभा ! उन्नाइस वर्षीय ठिटोको कति राम्रो दीर्घकालीन सोच ! उहाँले नेपाली र अंग्रेजीमा पढाइ, लेखाइ र गणित मात्रै सिकाउनु भएन । देश, समाज र जनतालाई माया गर्न सिकाउनु भयो । आफ्नो भाषा, संस्कृति, गीत-सङ्गीत तथा सामाजिक संस्कारको रक्षा गर्न सिकाउनु भयो । जीवनोपयोगी सीप सिकाउनु भयो । जिउने कला सिकाउनु भयो ।
साढे चारवर्षभन्दा बढी समय कबोल गरिएको मासिक पचास रुपियाँ पनि नलिईकन एकजना शिक्षकले सबै कक्षाका सम्पूर्ण विषयहरू अध्यापन गर्नु चानेचुने कुरो होइन । घरबेटी फेर्दै-फेर्दै उनीहरूको भान्सामा जे पाक्छ त्यही खाएर वर्षौँ बिताउने काम पक्कै सजिलो थिएन । आर्थिक मोहबाट माथि उठेर निस्वार्थी मनले सेवामा होमिने सरोज माड्साप जस्ता मान्छे यो धरणीमा विरलै पाइन्छन् ।
धेरै पढेका र टन्न तलब थापेर दशकौँसम्म नेतृत्व गरेका प्रधानाध्यापकभन्दा विना तलब भत्ता मानो चामल उठाएको भरमा गुजारा चलाएर विद्यालय स्थापना र संस्थागत विकासको लागि विना स्वार्थ अहोरात्र खट्ने कम योग्यताका शिक्षक तथा प्रधानाध्यापक महान् लाग्छन् मलाई । कुनै पनि व्यक्तिको योगदानको मापन उसको शैक्षिक योग्यता, तदअनुसार प्राप्त गरेको पद तथा सेवाअवधिबाट होइन उसको निस्वार्थी कर्म, व्यवहार, त्याग तथा सेवाग्राहीले हासिल गरेका उपलब्धीहरूबाट गर्नु पर्दछ ।
सरोज माड्सापले मलजल गर्नु भएको बितलब गाउँको शैक्षिक माटोमा हालसम्म बाह्र जना पी. एच. डी. होल्डर, सात जना मेडिकल डाक्टर, नेपाल सरकारका सचिव तथा उपसचिव, इन्जिनियर, शिक्षाविद्, उपप्राध्यापक, प्रधानाध्यापक/शिक्षक, कृषिविद्, संस्कृतिविद्, अधिवक्ता, प्रबन्धक, साहित्यकार तथा निजामती कर्मचारीहरू उम्रेका छन् । फुलेका – फलेका छन् । शैक्षिक दृष्टिकोणले जिल्लाकै एक उर्वर धरा सावित भएको छ – बितलब । यसको श्रेय जनजागृति आ. वि. का संस्थापक शिक्षक तथा प्रधानाध्यापक आदरणीय गुरु सरोजकुमार अधिकारीलाई जान्छ । हाम्रा प्रेरणाका स्रोत श्रध्येय गुरुदेवप्रति उहाँको अतुलनीय योगदानको सम्मान स्वरूप, समस्त चेला-चेलीहरूको तर्फबाट संस्मरणात्मक जीवनी प्रतिविम्वित गर्ने यो आलेख अर्पण गर्दै सादर अभिनन्दन गर्दछु ।

(नोट : डा. कडेल जनजागृति प्रा. वि., बितलबका पूर्व विद्यार्थी, शिक्षाविद् तथा साहित्यकार हुनुहुन्छ ।)

(याे आलेख खबरसिटि डटकम बाट साभार गरिएकाे हाे )


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar