✍️ सीताराम अधिकारी /धादिङ।
नीलकण्ठ बहुमुखी क्याम्पसले आगामी आर्थिक वर्षका लागि शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण, भौतिक पूर्वाधार विस्तार, सुशासन तथा विद्यार्थी कल्याणलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न क्याम्पस सभाको आठौँ बैठकमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा संसदीय सुनुवाइ समितिका संयोजक बोधनारायण श्रेष्ठकाे प्रमुख आतिथ्यम र पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुंगानालगायतको आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
क्याम्पसले विद्यार्थी भर्ना दर बढाउन विशेष अभियान सञ्चालन गर्ने, शिक्षक र विद्यार्थीबीच सिकाइ कमजोरीको पहिचान गरी सुधारात्मक कार्यक्रम लागू गर्ने तथा नियमित निर्माणात्मक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ। आन्तरिक परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउँदै आन्तरिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन समिति मार्फत त्रैमासिक अनुगमन तथा वार्षिक शैक्षिक परीक्षण सञ्चालन गरी शैक्षिक उत्कृष्टता हासिल गर्ने लक्ष्य राखिएको छ।
अनुसन्धान तथा नवप्रवर्तनलाई संस्थागत बनाउने उद्देश्यले अनुसन्धान व्यवस्थापन समितिलाई थप सुदृढ बनाइने भएको छ। स्थानीय आवश्यकता र समस्यामा आधारित प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकता दिइने, यसै आर्थिक वर्षदेखि Peer Review Journal प्रकाशन गरिने, प्रत्येक शिक्षकबाट कम्तीमा एक अनुसन्धानमूलक लेख प्रकाशन गर्ने वातावरण तयार पारिने तथा त्यसका लागि मेन्टरसिप कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ। साथै राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने योजना पनि क्याम्पसले अघि सारेको छ।
भौतिक तथा प्रविधिमैत्री पूर्वाधार विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ। थप जग्गा प्राप्तिका लागि पहल गरिने, आधुनिक छात्रावास निर्माण, सभा हल स्तरोन्नति, स्मार्ट कक्षाकोठा विस्तार तथा डिजिटल स्टुडियो स्थापना गरिने नीति लिइएको छ। प्रशासनिक कार्यलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै कागजरहित कार्यालय सञ्चालन गर्ने लक्ष्य पनि निर्धारण गरिएको छ।
क्याम्पसले स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था र विभिन्न विश्वविद्यालयसँग सहकार्य विस्तार गर्ने नीति पनि लिएको छ। अनुसन्धान, इन्टर्नसिप, सामुदायिक कार्यक्रम तथा विद्यार्थी–शिक्षक आदानप्रदानका लागि विभिन्न निकायसँग समझदारीपत्र सम्पन्न गरिने कार्यक्रम समेटिएको छ।
संस्थागत सुशासनलाई प्रभावकारी बनाउन क्याम्पस व्यवस्थापन समितिको नियमित बैठक, ई–गभर्नेन्स प्रणालीको कार्यान्वयन, पारदर्शी वित्तीय व्यवस्थापन तथा प्रत्येक तीन महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था गरिने भएको छ। सुझाव तथा गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति पनि कार्यक्रममा समावेश गरिएको छ।
शिक्षक तथा कर्मचारीको क्षमता विकासलाई प्राथमिकतामा राख्दै आधुनिक शिक्षण विधि, सूचना प्रविधि र प्रशासनिक व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने भएको छ। कार्यसम्पादन सम्झौता लागू गरी पारदर्शी मूल्याङ्कन प्रणाली विकास गर्ने तथा उत्कृष्ट शिक्षक–कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
विद्यार्थी केन्द्रित कार्यक्रमअन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिने, अतिरिक्त क्रियाकलाप विस्तार गरिने तथा ड्राइभिङ, लेखा, शिक्षक सेवा आयोग र लोक सेवा आयोग तयारीलगायत सीपमूलक तथा रोजगारीमुखी तालिम सञ्चालन गरिने भएको छ। विद्यार्थी परामर्श इकाइलाई सक्रिय बनाई शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत समस्याको समाधानमा सहयोग गर्ने व्यवस्था पनि गरिनेछ।
सभामा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो। उहाँले शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोधनारायण श्रेष्ठले नीलकण्ठ बहुमुखी क्याम्पसलाई जिल्लाको सीमाभन्दा माथि उठाएर राष्ट्रिय पहिचान स्थापित गर्ने शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले क्याम्पसको दीर्घकालीन विकासका लागि आफूबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वमन्त्री रामनाथ अधिकारीले क्याम्पसको दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले संघ, प्रदेश र स्थानीय सरकार तथा सञ्चालक समिति र सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट क्याम्पसलाई थप सुदृढ बनाउन सकिने धारणा राख्नुभयो।
प्रदेशसभा सदस्य गोविन्द लम्सालले क्याम्पसको भौतिक पूर्वाधार विस्तारसँगै उपयुक्त स्थानमा दीर्घकालीन विकास योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले सामुदायिक क्याम्पसको विकासका लागि स्पष्ट नीतिगत आधार आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकार शिक्षा क्षेत्रको विकासमा निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
सभामा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, आवश्यक जग्गा व्यवस्थापन, पूर्वाधार विस्तार, अनुसन्धान प्रवर्द्धन तथा भविष्यको विकास रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी सभाले पारित गर्ने जनाइएको छ। क्याम्पस प्रशासनले यस नीतिले नीलकण्ठ बहुमुखी क्याम्पसलाई गुणस्तरीय, अनुसन्धानमुखी, प्रविधिमैत्री र समुदायसँग जोडिएको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।