– विशम श्रेष्ठ /धादिङबेसी,
धादिङबेसीमा पत्रकार तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा धादिङको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा डिजिटल युगमा पत्रकारिताको बदलिंदो स्वरूप, प्रविधिको प्रभाव तथा एआईको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गरिनुका साथै डिजिटल सामग्री उत्पादन, तथ्य जाँचबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले डिजिटल पत्रकारिताको तीव्र विस्तारसँगै बढ्दो भ्रामक सूचनाको चुनौतीलाई सामना गर्न सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि अपरिहार्य भएको बताउनुभयाे ।
तथ्यपरक, विश्वसनीय र जिम्मेवार पत्रकारितामार्फत मात्रै नागरिकको विश्वास जित्न सकिने कार्यक्रममा सहभागिहरुकाे भनाइ छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले डिजिटल माध्यमबाट फैलिने भ्रामक सामग्रीले समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले चुनौती सामना गर्न सञ्चारकर्मीहरू प्रविधिमैत्री, व्यावसायिक र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सरकारको पछिल्लो नीतिप्रति असहमति जनाउँदै सरकारी सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्न गरिएको परिपत्रले निजी सञ्चार माध्यमलाई पाखा लगाउने खतरा रहेको बताउनुभयो। “सरकारी खर्चमा मितव्ययिता, पारदर्शिता र एकरूपता ल्याउने बहानामा निजी सञ्चार माध्यमलाई संकुचित बनाउने प्रयास प्रेस स्वतन्त्रता विरोधी हो,” उहाँले भन्नुभयो, “नयाँ सरकारको यस्तो निर्णय कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।”
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले डिजिटल पत्रकारिता तालिमले जिल्लाको पत्रकारितालाई थप जिम्मेवार, सक्षम र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गर्दै सञ्चार क्षेत्र व्यवस्थित भएमा मात्रै लोकतन्त्र सुदृढ हुने धारणा व्यक्त गर्नुभयो।
तालिमका मुख्य प्रशिक्षक तथा गोरखापत्र संस्थानका सह–सम्पादक अजय शर्माले डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, प्रविधिको प्रभाव तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार तालिममा डिजिटल सामग्री उत्पादन, तथ्य जाँच (फ्याक्ट चेक) विधि र जिम्मेवार समाचार सम्प्रेषणका विषयमा सहभागीलाई व्यवहारिक अभ्याससमेत गराइएको थियो।
यसैगरी, ग्लोबल कन्सल्टिङ एण्ड बिजनेस सर्भिस प्राइभेट लिमिटेडका राजन न्यौपानेले डिजिटल मिडियाको व्यवस्थापन, सूचना प्रवाहको विश्वसनीयता र सञ्चार क्षेत्रका नयाँ प्रविधिगत प्रवृत्तिबारे सहजीकरण गर्नुभएको थियो।
तालिमले सहभागी सञ्चारकर्मीहरूलाई डिजिटल युगका चुनौती र अवसरबारे स्पष्ट दृष्टिकोण प्रदान गर्नुका साथै व्यावसायिक पत्रकारितामा आवश्यक सीप विकासमा टेवा पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि केशव अधिकारी लगायतले डिजिटल पत्रकारिताकाे संवेदनशीलता वुझेर काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।