गर्विलाे सलाम !!

गर्विलाे सलाम !!

  • Kandara Samachar

  • बुधबार, साउन २२, २०८२

  • 162
    SHARES
गर्विलाे सलाम !!

✍️ कृष्ण राना
(डायरीकाे पानाबाट)

२०४१,चैत्र ७-१४ प्रचार दिवस पर्चा पाेष्टरिङ र सभा गरेर मनाउने संगठनकाे निर्णय कार्यान्वयन गर्दा खाल्टे डाँडागाँउ काण्ड घट्याे। जसमा २ विद्यार्थी नेताहरू र १ शिक्षक झण्डै ३ वर्ष थुनिए, २ किसान, ५ शिक्षक र १७ विद्यार्थीलाई राजकाज मुद्दा लगाइयाे। त्यसबाट उनमुक्ति मिलेकाे केही महिना भएकाे थियाे, विशालटारकाे जागरण सभाबाट ३ जना विद्यार्थीहरूलाई पक्रेर शान्तिसुरक्षा कायम राख्न भनी धादिङ जेलमा थुनियाे। यी दुई दमनात्मक काण्डबाट हाम्रा अविभावकहरू त्रसित हुनुहुन्थ्याे। अब त्यस्ताे दमनमा काेहि केटाकेटी नपरुन् भन्ने वहाँहरूकाे चाहना थियाे । हामी पनि जाेगिएर विद्यार्थी जागरण र संघर्षका कार्यक्रम गर्न प्रयत्नशील थियौं।

म जेलबाट छुटेर एस् एल् सी नतिजाकाे पर्खाइमा थिएँ ।
जेलबाट छुट्नासाथ परीक्षा दिएर जिल्लाका सबै साथीहरूलाई भेट्दै पुनः जगाउने अभियान अन्तरगत नै बैरेनीमा साँस्कृतिक सभा गर्ने निधाे भयाे। मेराे दाेस्राे कार्यकाल थियाे त्याे।
हामी विद्यार्थी माझमा जान नयाँ बाटाकाे खाेजिमा थियौं । खुला सभा गर्न राेकिएकाेले शुक्रबार साँस्कृतिक कार्यक्रमबाट जागरण ल्याउने याेजना बन्याे । हामी काेहि पनि खारिएका कलाकार थिएनौ तर आवश्यकता पर्दा गाउन, नाच्न काेहि पछि पर्दैन थियौं । सचिव टिकादेवी सिल्वाल पुगिसक्नु भएकाे थियाे, काेषाध्यक्ष अच्युत नेपाल त्यसैकाे तयारीमै हुनुहुन्थ्याे ।

बैरेनी बजारमा पुलिस चौकी भएकाेले ४ किमी पश्चिम वेलटारकाे सडक छेउकाे एकान्त माटाेकाे घर जहाँ गाेगनपानीका टंकश्रेष्ठ लगायत साथीहरूले डेराकाे रुपमा प्रयाेग गर्नु भएकाे थियाे, त्यसैमा कार्यक्रमकाे तयारी अभ्यास गर्ने याेजना अनुसार साँझकाे खाना पछि हामी जुट्दै थियौं । कार्यक्रमकाे बारे रामशरण अधिकारी सरलाई जानकारी थियाे । नलाङका नारायण अर्याल, मैदीका केशव भट्ट र भाेजनारायण श्रेष्ठ, रातमाटेका नवराज रुपाखेती, खाल्टेका किशाेर ढुङ्गाना र रामकृष्ण श्रेष्ठ, बेनिघाटका बिष्णु सेढाईं त्यहाँ पुगिसक्नु भएकाे थियाे । अच्युत नेपाल, उमा सिंखडा, गिता अधिकारी र टिकादेवी पुग्दै हुनुहुन्थ्याे । शारदा दुवाडी, भक्त गिरी र म नजिकै थियौं । रात अन्धकार थियाे । अरु साथीहरू पनि आउने क्रम थियाे । पहिले पुग्ने साथीहरूले मादल बजाउन शुरु गर्नु भयाे । पुलिस गस्तिलाई त्याे सह्य भएन र अन्धाधुन्द आक्रमण गर्याे । टंक, रामकृष्ण, किशाेर, बिष्णु र भाेजनारायणजीलाई पिट्दै लगे, नारायण, नवराज र केशवजीलाई अलि वच्चा ठानेर त्यहिं छाडे, अच्युत, गिता, टीका र उमाजी त्रिशुली नदीतिर ओर्लिएर घर लिप्ने माटाे खन्ने खाडलमा लुक्नु भयाे , शारदा,भक्त र म पनि त्यही पुग्यौं । पक्रेका साथीहरूलाई कता लग्याे त्यस रात थाहा भएन । हामी बाँडिएर बस्यौं । याे हाम्राे जिल्लामा अखिलका विद्यार्थी माथि गरिएकाे तेस्राे धरपकड थियाे ।

भाेलिपल्ट ठुलाे हल्ला भयाे, वातावरण खल्बलियाे, धेरै साथीहरू स्कुल जान सक्ने अवस्था रहेन। अच्युतजीलाई सुरक्षा दिन नसकिने भन्दै स्कुल छाड्न वाध्य पारियाे । पक्रेका साथीहरूलाई चर्काे यातनाका साथ सदरमुकाम पुर्याइयाे। झन्डै डेढ महिनाकाे नजरबन्द पछि साथीहरू रिहाइ हुनुभयाे। यातनाले टंकजीकाे मेरुदण्डमा लामाे समयसम्म घाउ पाक्याे। वहाँहरूकाे घरमा गएर अविभावकलाई सम्झाउन जाने कर्तब्य मैले पूरा गर्न सकिन। सबैलाई थाहा थियाे मसँग वहाँहरू दुखित हुनुहुन्थ्याे।

अन्याय अत्याचारकाे विराेधमा २०१६ साल साउनदेखि खनियाँबासबाट दामनपाख्रिन तामाङकाे नेतृत्वमा शुरु भएकाे “सामन्त भगाऊ-गरिब बचाऊ” आन्दाेलनले बहुदलीय ब्यवस्थालाई धरासायी बनाएकाे हामीलाई थाहा थियाे। जति दमन गरेपनि सत्यकाे जित अवश्यम्भावी थियाे। हामी विश्वासकासाथ आन्दाेलनमा लाग्यौं, सफलपनि भयौं ।

अहिले कति साथीहरूले नाम परिवर्तन गर्नु भएकाे छ, तसर्थ वहाँहरूकाे बारेमा जान्ने साथीहरूले अवश्य राय लेख्नु हुनेछ। सबै साथीहरूमा पुनः अभिवादन ! न्याय र समानताकाे अभियानमा अविचलित हुनुहुन्छ भन्ने विश्वास लिएकाे छ! सबै याेद्धाहरूमा गर्विलाे सलाम!!
२०८०/०४/२०
धादिङ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar